प्रस, निजगढ, १२ साउन/
निजगढ नगरपालिका–९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार, प्रसूति सेवा र सर्पदंश उपचार सेवा सञ्चालनमा छन् । प्रसूति र सर्पदंश उपचार सेवामा बिरामीहरूलाई थप आवश्यक उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गर्नुपर्दा एम्बुलेन्स नहुँदा उपचारमा जटिलता थपिएको छ । यस्तो बेलामा केन्द्रमा २४सैं घण्टा एम्बुलेन्स उपलब्ध हुनुपर्ने आवश्यक रहे पनि एम्बुलेन्सको लागि घण्टौं कुनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ । केन्द्रका लागि २४सैं घण्टा कम्तीमा एउटा एम्बुलेन्स भइरहनुपर्नेमा निजगढ नगरपालिकाको स्वामित्वमा रहेको एकमात्र एम्बुलेन्स बढीजसो अन्यत्र नै रहने गरेको बुझिएको छ । बिरामीको स्वास्थ्यमा जटिल समस्या भई अन्यत्र अस्पतालमा रेफर गर्दा नगरपालिकाको एम्बुलेन्स आउन ढिलासुस्ती हँुदा बिरामीको अवस्था जटिल हुने गरेको स्वास्थ्यकर्मीहरूले बताए ।
त्यसैगरी, तराई–मधेसका बस्तीहरूमा गर्मी र वर्षायाममा बेला सर्पदंशका बिरामी बढ्ने गरेका छन् । बाराको निजगढ नगरपालिकामा पाँच वर्षको अवधिमा ५०६ जना सर्पदंशका बिरामीहरूले सफल उपचार पाएको प्राथमिक स्वास्थ्य केन्द्र, निजगढको सर्पदंश उपचार कक्षको रेकर्डले देखाएको छ । २०७४ साउनदेखि २०७५ असारसम्म १०९ जना सर्पदंशका बिरामीले उपचार सफल पाए । जसमा २४ जनालाई गोमन, करेत जस्ता विषालु सर्पले डसेका थिए । त्यसैगरी, २०७५ साउनदेखि २०७६ असारसम्म ९९ जना सर्पदंशका बिरामीको सफल उपचार भयो, जसमा १० जनालाई विषालु सर्पले डसेको थियो । २०७६ साउनदेखि २०७७ असारसम्ममा सर्पदंशको उपचार पाएका १३५ जनामध्ये १३ जनालाई विषालु सर्पले डसेको थियो । २०७७ साउनदेखि २०७८ असारसम्ममा १०६ जना सर्पदंशका बिरामीमध्ये तीनजनालाई विषालु सर्पले डसेको रेकर्ड छ । त्यसैगरी, २०७८ साउनदेखि २०७९ असारसम्म ६६ जना सर्पदंशका बिरामीमध्ये नौजनालाई विषालु सर्पले टोकेको केन्द्रको रेकर्डले जनाएको छ ।
सर्पले डसे तत्कालै सामान्य स्वास्थ्य सुरक्षाका उपाय अपनाइ समयमैं उपचारका लागि आइपुगेका अधिकांश बिरामीको सफल उपचार भएको लामो समयदेखि सर्पदंशको उपचारमा संलग्न केन्द्रका वरिष्ठ स्वास्थ्यकर्मी लीला लामाले बताइन् ।
पाँच वर्षको अवधिमा सर्पले डसेको बेलैमा थाहा नभएको, आधारभूत स्वास्थ्य सुरक्षाको पालना नगरी उपचार गर्न ल्याइएकामध्ये बढीमा सात/आठ जनाको मात्र मृत्यु भएको अनुमान छ । यसमा पनि कतिपय बिरामीलाई ल्याउँदा ल्याउँदै बाटोमैं मृत्यु भइसकेको अवस्थामा ल्याइएका घटनाहरू पनि रहेको जनाएको छ । १० वर्षभन्दा कम उमेरका बालबालिका वा अन्य उमेरका सर्पदंशका गम्भीर अवस्थाका बिरामीलाई सुविधायुक्त अस्पतालमा रेफर गर्ने गरेको केन्द्रका चिकित्सक प्रिन्स तिवारीले बताए ।
स्वास्थ्य अवस्था जटिल भएका बिरामीहरूको उपचारका लागि भेन्टिलेटरसँगै थप दक्ष जनशक्ति आवश्यक पर्ने डा तिवारीले बताए । गोमन, करेत जस्ता विषालु सर्पको डसाइबाट सुरक्षित हुन खेतबारी वा घाँस दाउराका लागि वनजङ्गल जाँदा घुँडासम्म आउने गम्बुटको प्रयोग गर्नुपर्ने, साँझ/राति घरबाहिर हिंड्डुल गर्नुपर्दा टर्चलाइटको प्रयोग गर्नुपर्ने, ओछ्यानमा सुत्नुअघि सुत्ने ठाउँमा राम्ररी हेरी सतर्कता अपनाउनुपर्ने, अनिवार्य झुलको प्रयोग गरी राम्ररी थिचेर सुत्ने जस्ता सामान्य कुरालाई ध्यानमा राख्दा सर्पको डसFइबाट धेरै हदसम्म सुरक्षित हुन सकिने डा तिवारी बताए ।
केन्द्रमा अन्य विभिन्न बिरामीहरू दैनिक ५० देखि डेढ सयजना आउने गरेका छन् । स्वास्थ्य केन्द्रमा बिरामीहरूको चाप बढे पनि दक्ष चिकित्सकको अभाव छ । यहाँ एकजना चिकित्सक र स्वास्थ्यकर्मीलगायत २२ जना कार्यरत छन् । यहाँ करारमा कार्यरत स्वास्थ्यकर्मीहरूले नेपाल सरकारले तोकेको न्यूनतम तलब सुविधासमेत नपाएको गुनासो गरेका छन् ।