प्रस, सेढवा, १२ साउन/
इलाका प्रहरी कार्यालय, सेढवा र पटेर्वासुगौलीको संयुक्त टोलीले एकजना महिलाको जलेको अवस्थामा शव बरामद गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत जय माँ जगदम्बे सामुदायिक वनबाट बिहीवार जलेको अवस्थामा प्रहरीले शव बरामद गरेको हो ।
बरामद शव जीराभवानी गाउँपालिका–१ भवानीपुर निवासी खेमराज दासकी १७ वर्षीया छोरी सीमा कुमारीको पुष्टि भएको छ । सीमाको शव वसन्तपुर सबडिभिजन वन कार्यालयभन्दा पाँच सय मिटर उत्तर घना जङ्गलबाट बरामद भएको हो । गएराति शव जलाइएको प्रहरीले अनुमान गरेको छ । बरामद शवको घुँडा, हाड र मासु जल्न बाँकी रहेको प्रहरीले जानकारी गराएको छ । शव जलाउन पेट्रोल, सिमेन्टको बोरा तथा चिनी प्रयोग गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।
सीमाका बुबा फरार छन् भने आमा श्रीकान्ति देवीलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको छ । स्थानीयले सीमाको मृत्युको कारण प्रेम सम्बन्ध रहेको दाबी गरेका छन् । स्थानीय एकजना केटासँग सीमाको प्रेम सम्बन्ध रहेको र सोही कारणबाट हत्या गरी आत्महत्याको कारण देखाउन खोजिएको गाउँमा चर्चा छ । सीमाकी आमाले भने सीमालाई छारेरोग भएको बताएकी छन् । पक्राउ परेकी सीमाकी आमालाई यहाँबाट आवश्यक कारबाईको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा सीमाको हत्या गरिएको देखिए पनि प्रहरीले शल्यपरीक्षण रिपोर्टपछि तथ्य कुरा बाहिरिने बताएको छ । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ । सीमाको एकजना केटासँग रहेको प्रेम सम्बन्धका कारण घरमा केही दिनदेखि विवाद बढ्दै आएको स्थानीयले बताएका छन् ।