प्रस, वीरगंज, १२ साउन/
भारतको आजादीको अमृत महोत्सव र विश्व हेपाटाइटिस दिवस मनाउन वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले वाणिज्य दूतावास परिसरमा बिहीवार ‘हेपाटाइटिसः कारण, लक्षण, रोकथाम र उपचार’ विषयमा प्यानल छलफलको आयोजना गरेको छ ।
छलफलमा वीरगंजका इन्टरनल मेडिसिनका चिकित्सक नारायणी अस्पतालका डा नीरज सिंह, नारायणी मेडिसिटी वयोधाका डा अभिषेक सिंह, निजी चिकित्सक डा राकेश झा र नेशनल मेडिकल कलेजका डा जीतेन्द्र मिश्रको सहभागिता थियो ।
कार्यक्रममा महावाणिज्यदूत नितेश कुमारले विश्वभर र विशेषगरी दक्षिण एशियामा हेपाटाइटिस रोगको खतराबारे प्रकाश पारेका थिए । उनले रोगसँग लड्नका लागि उचित ज्ञान आवश्यक पर्नेमा जोड दिए । उनले जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाउनुको कारणबारे पनि प्रस्ट पारे ।
छलफलमा सहभागी विशेषज्ञ चिकित्सकहरूले हेपाटाइटिस रोगको कारण, प्रकार, लक्षण, रोकथाम र उपचारका बारेमा सहभागीहरूलाई अवगत गराएका थिए । विज्ञ चिकित्सकहरूले यस रोगसँग जोडिएका सामाजिक कलङ्कबारे पनि प्रकाश पारेका थिए । उनीहरूले बिरामीहरूलाई दयालु र सकारात्मकरूपमा व्यवहार गर्न सुझाव दिएका थिए । उनीहरूले हेपाटाइटिसविरुद्धको खोप लगाएमा रोगबाट बच्न निकै प्रभावकारी हुने बताए । कार्यक्रममा सहभागीहरूको रोगको जिज्ञासाबारे विशेषज्ञ चिकित्सकहरूले जवाफ दिएका थिए ।