प्रस, परवानीपुर, १२ साउन/
वीरगंज महानगर–२८ बगही टोलमा जनता आवास कार्यक्रम अन्तर्गत दलित विपन्न परिवारको घर निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गाउँलेले बताएका छन् ।
प्रदेश सरकार मातहत सघन शहरी डिभिजन कार्यालय, वीरगंजको निगरानीमा उपभोक्ता समितिद्वारा भइरहेको घर निर्माणको काममा दुई नम्बर इँटा र आठ/एकको मसलाले पर्खालको जोडाइ भइरहेको गाउँलेहरूले आरोप लगाएका छन् ।
बगहीटोलको चमरपट्टिमा शङ्कर राम, महेन्द्र राम, करिमन राम, रामदरश राम, खोभारी राम, विनोद राम, मनोज राम, तेजा राम, सुधन, छोटेलाल, लालुलगायत ५२ जनाको घर निर्माण भइरहेको छ । प्रतिघर निर्माण लागत रु तीन लाख ७२ हजार रहेकोमा गत आवको असार मसान्तमा भुक्तानी लिनको लागि हतार–हतारमा जगसम्मको काम मात्र सकिएको छ ।
दुई कोठे पक्की घर असार मसान्तसम्म सम्पन्न भइसक्नुपर्नेमा शहरी भवन कार्यालयको उदासीनता र उपभोक्ता समितिको लापरवाहीले गर्दा विपन्न वर्ग अहिले घरबारविहीन भएका छन् । घर निर्माणमा भइरहेको ढिलाइले पीडितहरू अहिले त्रिपाल टाँगेर अरूको जग्गा र घरमा शरण लिई बसेको गाउँलेहरूले बताएका छन् ।