प्रस, परवानीपुर, ११ साउन/

मध्यतराईको पर्सा–बारा जोड्ने वीरगंज–पथलैया सडकखण्डमा सञ्चालनमा रहेको वीरगंज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजना यस क्षेत्रको महŒवाकाङ्क्षी योजना हो ।

दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने आयोजना शुरू भएको आज सात वर्ष बितिसक्दा पनि शतप्रतिशत काम सम्पन्न हुन सकेको छैन । मध्यतराईका जिल्लावासी, आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकलाई पनि व्यापारिक मार्ग आयोजनाको कामले गिज्याइरहेको छ । सात वर्षमा मुख्य लेनको काम पनि पूर्णरूपमा हुन नसकेकोमा फूटपाथ, नाला, कल्भर्ट, सोलार बत्ती, वृक्षारोपण लगायतका कामको कुनै ठेगान नै छैन ।

२०७३ असार २९ मा दुई वर्षमा काम सम्पन्न गर्नेगरी सम्झौता भएपछि तीनवटा पुल, नाला, कल्भर्टलगायतका काम पनि समावेश हुँदै गएपछि आयोजना लम्बिएको र सोचेअनुरूपको प्रगति हुन नसकेको आयोजना प्रमुख मनीषकुमार साह बताउँछन् ।

करीब सवा पाँच अर्ब लागतको उक्त आयोजनालाई १३ वटा खण्डमा बाँडेर ठेक्का दिई काम भइरहेको छ । कार्यालयका अनुसार आयोजनाको वित्तीय प्रगति ८५.६३ प्रतिशत र भौतिक प्रगति ९१.२६ प्रतिशत दाबी गरिन्छ तर सुक्खा बन्दरगाह–जगरनाथपुर–परवानीपुर सडकखण्डमा मुख्य लेन र त्यसको दायाँ–बायाँको सडक लेन, नाला र फूटपाथको काम भएको देखिंदैन ।

सात वर्षदेखि सञ्चालित आयोजनामा सबैभन्दा ढिलाइ भएको सडकखण्ड सुक्खा बन्दरगाह–हरपतगंज, परवानीपुर–गण्डक सडक, तीनवटा पुल र सूर्य नेपालदेखि जीतपुर बजार हुँदै गढीमाई मन्दिरसम्मको हो । आयोजनाको कार्यालयले ठेकेदारलाई कालोसूचीमा राख्न पटक–पटक ताकेता गर्दा पनि सरकारले ठेकेदारलाई कारबाई नगरी उल्टै एक वर्षको समयावधि थप गरेकोले आयोजना अझै लम्बिनेछ ।

सबैभन्दा कम काम भएको जीतपुरमा ढिलाइ हुनुको कारण मन्दिर निर्माण हो । रु ७१ लाखको लागतमा निर्माण भइरहेको उक्त मन्दिरको प्रगति ४० प्रतिशत मात्र छ । गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालि, चन्द्रपुरले २०७९ जेठमा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो तर उसले काम निकै ढिलो गरी शुरू ग¥यो ।

त्यसैगरी, परवानीपुर–गण्डकको करीब चार किलोमिटर सडकखण्डको प्रगति ९३ प्रतिशत छ । उक्त सडकखण्डको ठेक्का दिवा/सपना जेभीले लिएको छ । परवानीपुर बजारमा सडक विस्तारको काम ओझेलमा पर्दा कालोपत्रको काममा पनि ढिलाइ भएको  छ ।

त्यसैगरी, परवानीपुर–जगरनाथपुर–गण्डक नहरसम्मको सडकखण्ड एएमआर/पप्पु/कन्टेक्ट जेभीले ठेक्का पाएकोमा ७७ प्रतिशत, जगरनाथपुर–हरपतगंज ३.५० किलोमिटर सडकखण्डको ठेक्का श्रेष्ठ/बिरुवा/एपेक्स जेभीले लिएकोमा ९१.४४ प्रतिशत, हरपतगंज–सुक्खा बन्दरगाह–आइसिपी चोकसम्म साढे तीन किलोमिटर सडकखण्डको पप्पु/लुम्बिनी जेभीले ठेक्का लिएकोमा ७६ प्रतिशत, पथलैयादेखि सूर्य नेपालसम्मको साढे चार किमी सडकखण्डको एएमआर/कन्टेक्ट जेभीले ठेक्का लिएकोमा ९७.१४ प्रतिशत, सूर्य नेपालदेखि गढीमाईसम्म ५.८० किलोमिटर खण्डको शर्मा/युनाइटेड/दिवा निर्माण सेवाले ठेक्का पाएकोमा ८२ प्रतिशत र गढीमाईदेखि परवानीपुर प्रहरी चौकीसम्म ५.१६ किलोमिटर खण्डको एएमआर/कन्टेक्ट जेभीले ठेक्का लिएकोमा ९०.६४ प्रतिशत मात्र काम भएको छ ।

त्यसैगरी, लालपर्सा गाउँनजीक निर्माण भइरहेको श्रीसिया खोला पुल र परवानीपुर प्रहरी चौकी नजीक निर्माण भइरहेको पुलको ठेक्का लुम्बिनी/मृत सञ्जीवनीले लिएकोमा ९५ प्रतिशत प्रगति भएको देखिन्छ ।

त्यसैगरी, जगरनाथपुर–गण्डक नहरमा र नारायणी सिंचाइनजीक गण्डक बहुअरीमा दुईवटा कल्भर्टको पनि काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here