प्रस, सिम्रौनगढ, ११ साउन/
महिला हिंसा तथा बोक्सीप्रथा अन्त्य राष्ट्रिय जागरणसम्बन्धी कार्यक्रम बुधवार बाराको सिम्रौनगढ उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सम्पन्न भएको छ ।
कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारले समाजमा बोक्सी रहेको कुरा मनगढन्त मात्र हो भने ।
उनले यो मात्र मनको भावना हो, बोक्सी भन्ने नै छैन, समाजका गरीब एकल र बूढी महिलालाई सजिलैसित आरोप लगाएर यातना दिने प्रथा मात्र भएको बताए । उनले कसैले कसैलाई बोक्सीको आरोप लगाए, आरोप लगाउनेमाथि कानूनबमोजिम कारबाई हुने बताए । बोक्सी प्रथा उन्मूलनको लागि पालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी जनजागरण जगाउँदै आएको बताए ।
राष्ट्रिय जागरण अभियानका केन्द्रीय अध्यक्ष कोविदशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा यो जागरण अभियान देशव्यापीरूपमा सञ्चालन हुने र जनतालाई चेतना जगाउँदै बोक्सी प्रथा उन्मूलन गर्ने रहेको जनाइएको छ ।
यो अभियान अन्तर्गत महोत्तरीमा २२, धनुषामा २२, रौतहटमा ४, पर्सामा ६ र बारामा ५ पटक कार्यक्रम भएको र देशका ३० जिल्लामा सञ्चालन हुने बताइएको छ ।
कार्यक्रममा उपप्रमुख नजबु शेहर, महिला अधिकार मञ्च बाराकी अध्यक्ष फूलपतीदेवी मुखिया, सुचिता कर्ण, नागरिक समाज बाराका अध्यक्ष अरविन्द कुशवाहा, वीरबहादुर कुशवाहा समाजसेवी शेख मोतिन, सशस्त्र प्रहरी बल बिओपी गोलागंजका प्रनि कमल पन्थी प्रअ कमलेश अग्रहरि, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरूलगायत स्थानीय महिला, पुरुषहरूको सहभागिता थियो ।
नेपाल प्रहरी बाराको संयोजनमा भएको कार्यक्रमको सञ्चालन इप्रका, सिम्रौनगढका प्रहरी सहायक निरीक्षक झाले गरेका थिए ।
कार्यक्रममा एउटा कथाचित्र पनि देखाइएको थियो ।