प्रस, वीरगंज, ८ साउन/
वीरगंज महानगरपालिका–२ घुसुकपुरटोलमा शनिवार बिहान चार वर्षीया नाबालिकाको शव फेला परेको घटनामा प्रहरीले तीनजना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
स्थानीय सिकन्दर अलिकी चार वर्षीया छोरी रेहना यही साउन ५ गते रातिदेखि हराएकी थिइन् । हराएको दुई दिनपछि शनिवार नाबालिकाको शव बरामद भएको हो । पर्सा प्रहरीले हराएकी नाबालिकाको बलात्कार भएको र सोही क्रममा हत्या भएको प्रारम्भिक अनुमान गरेको छ ।
हत्या आशङ्कामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । साउन ५ गते साँझदेखि नाबालिका घरपरिवारको सम्पर्कमा नआएपछि बेलुकी परिवारजनले प्रहरीमा खबर गरेका थिए । शनिवार बिहान रेहनाको शव उनकै घरनजीकबाट बरामद भएको थियो ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले शवको पहिचान भएको र प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि हत्या भएको आशङ्का व्यक्त गरेका छन् । उनले बरामद शव शल्यपरीक्षणपछि परिवारको जिम्मा लगाएको र रिपोर्ट आएपछि मात्र थप कुराको पुष्टि हुने बताएका छन् ।
प्रहरीले घटना सम्बन्धमा पक्राउ परेका तीनजनालाई अदालतमा हाजिर गराएर कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जनाएको छ ।