प्रस, वीरगंज, ७ साउन/
नेपाल सरकारले प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित गरेपछि वीरगंजमा खुशियाली मनाइएको छ ।
सत्तारूढ गठबन्धन दलका नेपाली काङ्ग्रेस, पर्साले वीरगंजको माईस्थान पार्कमा दीप प्रज्वलन गरी खुशियाली मनाएको छ भने सरकारलाई स्थानीय नेताहरूले धन्यवाद दिएका छन् ।
नेपाली काङ्ग्रेस, पर्साका पूर्वसभापति सुरेन्द्रप्रसाद चौधरीले तराई–मधेसमा नागरिकताविहीन लाखौं परिवारको लागि नागरिकता विधेयक फलदायी हुने बताए । उनले नागरिकता विधेयक संसद्बाट पारित भएकोले अब नागरिकता बनाउनको लागि सर्वोच्चमा रिट दिनुनपर्ने र जन्मसिद्ध नागरिकका छोराछोरीहरूले सहजै नागरिकता प्राप्त गर्ने बताए ।
नेपाली काङ्ग्रेस, पर्साका सभापति जनार्दनसिंह क्षत्रीले चुनावको मुखमा सरकारको यस्तो कदमले तराई–मधेसका लाखौं जन्मसिद्ध र अङ्गीकृत नागरिकका छोराछोरीहरूको भविष्य निर्धारण हुने बताए । नागरिकता नबन्दा जन्मसिद्ध र अङ्गीकृतका छोराछोरीहरू राज्यविहीन भएको अवस्थामा सो विधेयक संसद्बाट पास भएकोले अब पीडितहरूले सहजै नागरिकता पाउने र राज्यबाट पाइने मौलिक हक उपभोग गर्न सक्ने बताए ।
नेपाली काङ्ग्रेस, पर्साका उपसभापति रामनारायण कुर्मीले नागरिकता विधेयक पारित भएपछि अन्य राजनीतिक दलहरूले श्रेय लिन खोजेको तर सत्तामा रहेका दलहरूले मधेसको जनताको समस्या बुझेर विधेयक पास गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेता श्याम पटेल, पूर्वउपप्रमुख शान्ति कार्की, विजय सर्राफ, जीतेन्द्रपुरुष ढकाललगायतको सहभागिता थियो ।