चिरञ्जीवी सापकोटा, ठोरी, ६ साउन/
ठोरी गाउँपालिकामा रहेको ठुटेखोलामा शुक्रवारदेखि तटबन्ध निर्माण शुरू भएको छ ।
अस्ति साँझ बुधवारदेखि परेको वर्षाका कारण ठोरी बजार, राईधारा तथा हुलाकी सडकलाई क्षति पु¥याउन सक्ने सम्भावना बढेपछि गापाको पहलमा शुक्रवारदेखि तटबन्ध निर्माण शुरू भएको हो । ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठले बाढी क्षेत्रको अनुगमन गरी रोकथामका लागि तटबन्ध निर्माण कार्य शुरू गरेका हुन् ।
वर्षाका कारण ठुटेखोलाले पश्चिमपट्टि करीब २० मिटर जति खाली जमीन कटान गरेको छ । ठोरीमा रहेको बसपार्कसमेत जोखिममा परेको छ । स्थानीयस्तरमा उपलब्ध जालीमा ढुङ्गा भर्ने काम गरिएको छ । बाँकी जाली साँझसम्म र आइतवार बिहान ठोरी आइपुग्ने गरी कुराकानी भएकोले सोमवारसम्म तटबन्ध निर्माणको सबै कार्य सम्पन्न हुने गापा अध्यक्ष श्रेष्ठले बताए ।