चिरञ्जीवी सापकोटा, ठोरी, ५ साउन/
ठोरी गाउँपालिका–२ ठोरी बजारमा बाढीको जोखिम बढेको छ । बुधवार साँझदेखि भएको वर्षाका कारण ठुटेखोलामा बाढी आएको र त्यसले जोखिम बढाएको छ । खोलाको पश्चिमतर्फ क्षति पु¥याउन शुरू गरेको छ ।
वीरगंज–ठोरी हुलाकी राजमार्गमा पर्ने ठोरी बजार क्षेत्रलाई बाढीले क्षति पु¥याउने सम्भावना बढेको छ । ठोरीको पर्यटकीय गन्तव्य राईधारा, गणेशमान पार्कलगायत क्षेत्र पनि बाढीको चपेटामा पर्ने जोखिम छ ।
हुलाकी सडक र ठुटेखोलाको दूरी एक मिटर मात्र छ । रातिदेखि पानी परेर खोलामा पानीको सतह बढेपछि स्थानीय बजारका मानिसहरू रातभरि सुत्न सकेनन् । स्थानीय सुनील लामाले बुधवार राति भारी वर्षासँगै खोलामा पानीको सतह बढेपछि रातभरि निद्रा नलागेको बताए ।
गत वर्षको असारमा यसै क्षेत्रमा नदी नियन्त्रण गर्न भनि दुर्ई/दुर्ई पटक समिति निर्माण गरी कार्य थालनीको सम्झौता भएको तर राष्ट्रिय निकुञ्जका कारण काम हुन नसकेको स्थानीयले बताएका छन् । गत वर्ष बाढीको कहर ठोरीवासीले झेल्नुपरेको थियो र यस वर्ष त्यस्तो नहोस् भनेर निर्माण समिति बने पनि काम हुन नसक्दा अहिले पानी परेको बेलामा बाढीको प्रकोप हुने भन्दै स्थानीयलाई चिन्तित बनाएको छ ।
गएरातिको वर्षाका कारण ठोरी गापा–१ र २ मा पर्ने ढेडु खोलामा आएको बाढीका कारण बिहीवार ठोरी–नारायणगढ चल्ने यात्रीवाहक सार्वजनिक सवारीसाधनको सेवा ठप्प रह्यो । बाढीको कारण ठोरीबाट नारायणगढको लागि छुटेको यात्रीवाहक बस दिनभरि ढेडुखोला तर्न नसकेर फर्केको चालक रञ्जीत थापाले बताए । उनले ठोरी–माडी सडकखण्डमा पर्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा रूख ढलेर बाटो अवरुद्ध भएकोले सेवा प्रभावित भएको बताए । कतिपय सवारीसाधन बीच जङ्गलमा अलपत्र अवस्थामा रहेको उनले बताए ।
वर्षाको कारण ठोरीका सहायक सडकहरूलाई समेत क्षति पुगेको छ भने केही सामुदायिक र निजी विद्यालयहरूको पहिलो त्रैमासिक परीक्षालाई पनि बाधा पु¥याएको छ ।
यसैबीच, सशस्त्र प्रहरीले बिहीवार ढेडुखोलाले बगाएको अवस्थामा एकजनालाई उद्धार गरेको छ । मान्छे बगाएको खबर स्थानीयले गरेपछि उद्धार गरिएको बिओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक शङ्कर कोइरालाले बताए । उनले उद्धार गरिएका व्यक्ति भारतीय नागरिक भएको जानकारी गराएका छन् ।