प्रस, वीरगंज, ४ साउन/
पर्सा, बारा, रौतहटसम्म सिंचाइ गर्ने गण्डक नहरमा रोपाइँको मुख्य बेलामा पनि सम्झौता अनुसारको पानी नआएको किसानहरूले गुनासो गरेका छन् ।
उनीहरूले खडेरी परेको अवस्थामा सो नहरबाट दमकल लगाएर खेत सिंचाइ गरी बीउ रोप्न पर्खेर बसेको तर नहरमा पानीको सतह निकै न्यून रहेकोले सिंचाइ गर्न नसकेको किसानहरूको भनाइ छ ।
यस विषयमा गण्डक नहर व्यवस्थापन गर्ने नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजका सूचना अधिकारी सुबोध कुशवाहाले धानबाली र गहुँबालीको लागि वर्षमा दुईपटक भारत सरकारसँग भएको सम्झौता अनुसार साढे आठ सय क्युसेक पानी ल्याउने सम्झौता भए तापनि भारत सरकारले अहिले जम्मा चार सय क्युसेक पानी मात्र दिइरहेकोले समस्या भइरहेको बताए ।
उनले केही दिनयता गर्मी बढेपछि साढे तीन सय क्युसेक मात्र पानी आइरहेकोले पर्सा, बाराका किसानहरूलाई आलोपालो गरेर पानी दिने गरेको बताए । तर उक्त पानी हजारौं किसानको माग अनुसार पर्याप्त छैन ।
उनले नेपाली पक्ष्Fले भारतीय पक्षलाई पटक–पटक पत्र लेखेर, फोन गरेर ताकेता गर्दा पनि भारतीय पक्षले भारतमा रहेको नहरको डिल कमजोर भएकोले सम्झौता अनुसारको पानी छाड्न आनाकानी गरिरहेको बताए ।