• सञ्जय साह मित्र

साँच्चीकै काम गर्नको लागि के चाहिन्छ ? वा के के भए मानिसले सही अर्थमा आफूले सोचेजस्तो काम गर्न सजिलो हुन्छ ? यदि सर्वसाधारणलाई सोध्ने हो भने सोझो जवाफ पाउन सकिन्छ ः पद, पैसा, शक्ति र प्रतिष्ठा । अहिले त यी सबै कुरा कसैमा छ भने बहुमतको स्थानीय सरकारमा छ । वास्तवमा प्रदेश वा केन्द्र सरकारमा यी कुरा अझ बढी छ तर सीमित स्रोत र साधनबीच यदि विचार गर्ने हो भने स्थानीय सरकारलाई सबै दृष्टिकोणले समर्थ मान्न सकिन्छ । केही महीना मात्र पहिले गठन भएको स्थानीय सरकारमा धेरै किसिमले जोश देख्न र भेट्न सकिन्छ अर्थात् स्थानीय सरकारमा यदि नगर प्रमुखको बहुत छ भने निकै शक्तिशाली सरकार भएको छ । मतलब पद भयो । स्थानीय सरकारसित पैसा पनि छ किनभने स्थानीय सरकारले वार्षिक बजेट नै विनियोजन गर्दछ । वार्षिकरूपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दछ । यसले कानून बनाउने अधिकार पनि पाएको छ । यी सबले यो स्पष्ट पार्दछ कि यो सरकारमा सामथ्र्य छ । अर्थात् सरकार प्रमुखमा शक्ति हुन्छ भन्ने स्पष्ट हुन आउँछ । र यदि यथार्थलाई विचार गर्ने हो भने के स्पष्ट हुन्छ कि पालिका प्रमुखको प्रतिष्ठा निकै उच्च छ । कानूनले निर्धारण गरेको मर्यादाको कुरो त आफ्नो ठाउँमा छ नै, मर्यादाक्रममा पनि स्थानीय सरकार प्रमुखलाई निकै सम्मान छ र समाजमा पनि पालिका प्रमुख अर्थात् स्थानीय सरकार प्रमुखलाई निकै उच्च सम्मान रहेको देखिन्छ । जनताले चुनेको अन्य सबै पदभन्दा जनताकै नजरमा पालिका सरकारको प्रतिष्ठा ठूलो छ । यसरी पद, पैसा, शक्ति र प्रतिष्ठा भएमा यदि मानिसले काम गर्ने हो भने अहिलेको स्थानीय सरकारको हकमा यी सबै कुरा रहेका छन् । यसर्थ काम गर्न सजिलो छ वा काम गर्ने वातावरण छ ।

यति कुरा यदि कुनै काम गर्न चाहने मानिसमा आएको छ भने उसले काम गर्न सक्छ । अझ अरूले काम गर्न नसकेको भनेर बताउने र अरूको ठाउँमा म भएको भए यो–यो काम यसरी गर्थें भन्ने कुरा बारम्बार दोहो¥याउनेहरू यदि सपनाको संसारमा पुग्दछन् भने के हुन्छ ? अहिलेको स्थानीय सरकारमा यस्ता धेरै मानिस पुगेका छन् जो सपना देख्दथे कि म पालिका प्रमुख भए यसरी वा यो काम गर्छु । मलाई यसरी काम गर्न सजिलो हुनेछ । यसरी काम गर्दा अझ बढी सफल हुन सकिन्छ । जनताको मन जित्न सकिन्छ । आफूलाई चिनाउन सकिन्छ । बाटोघाटो, शिक्षा, स्वास्थ्य तथा संस्कृति र पर्यटनको क्षेत्रमा यसरी काम गर्न सकिन्छ भन्ने कुरा बताइरहेका थिए । र, अहिले समय यस्तो आइसकेको छ कि मानिसले कार्यान्वयन खोज्दैछ । मानिसले कार्यान्वयन गर्न नसकिने कुरालाई दर्शन मात्र मान्दछन् । दर्शनलाई यदि व्यवहारमा उतारिएन भने काम लाग्ने हुँदैन । यसरी काम नलाग्ने कुरा गर्नेलाई गाउँघरमा आजभोलि ‘नेता’ भन्न थालिएको छ । नेता भन्नु चाहिं कामै नगर्ने त होइन होला । कामको नेतृत्व गर्ने पनि नेता नै हो र अहिलेको समयमा धेरै हदसम्म कामको नेतृत्व पनि हुन थालेको छ । अनुकरण नै सही, धेरै राम्रा काम हुन थालेका छन् । कुनै पालिकाले राम्रो गर्ने आँट देखाउँदा त्यसको अनुकरण अरूले पनि गर्न थालेका छन् । हो, अहिले धेरैले मौका पाएका छन् र गरेर देखाउन थालेका छन् । गरेर देखाउने वातावरण बनेपछि भाषणभन्दा काम गर्दा चर्चा कमाइरहेका छन् ।

काम गर्न खोज्नेलाई अहिलेको समय उपयुक्त छ । के भनिन्छ भने बिहानले दिन कस्तो हुन्छ भन्ने आभास दिन्छ । यस अर्थमा अहिलेको समय भनेको धेरै कार्यपालिकाको लागि बिहानको समय हो । हुनत यो पनि देखिएको छ कि पहिले धेरै राम्रो गर्ने र बिस्तारै पहिलेको जस्तै भएर देखापर्ने । यद्यपि सबैतिर यस्तै भएको पाइँदैन । कतिपयले शुरूदेखि राम्रो काम गरेर एकै किसिमले निरन्तर राम्रो काम गरिरहन सक्छन् । निरन्तर राम्रो काम गर्नेको पनि विरोध हुन्छ । निरन्तर राम्रो काम गर्न सक्ने वा गर्दै नगर्नेको पनि विरोध हुँदैन । विरोध कसको गर्ने वा किन गर्ने भन्ने विषय कामको कारण त हुन्छ नै, कामभन्दा पनि व्यक्ति, जाति वा समुदाय हेरेर पनि हुन्छ । आजभोलि पार्टी हेरेर पनि विरोध गर्ने गरिन्छ । यसरी विरोधको अनेक रूप वा अनेक कारण वा अनेक तरीका वा अनेक नियत हुन सक्छ । विरोध गर्नेले विरोधको लागि मात्र पनि गर्न सक्छ तर विरोधको डरले काम गर्नेले काम गर्न छोड्नुहुँदैन । कतिपयले विरोधको डरले काम नै नगरेको पनि नदेखिएको होइन तर यस्तो पनि देखिएको छ कि विरोध गर्न नसक्ने अवस्थामा काम गर्ने पदमा पुगेकाले यति धेरै नराम्रा काम गरेका छन् कि कामबारे वास्तविकता बाहिर आउँदा ‘के गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो भएको छ । वास्तवमा राम्रो काम गर्नुपर्दछ र राम्रो काम गर्ने क्रममा यदि कहीं कतैबाट विरोध हुन्छ भने विरोध हुने डर छाडेर काम गर्नु उचित हुन्छ । विरोध गर्नेले पनि नीति, धर्म, नैतिकताको आधार लिनु उचित हुन्छ । जे पनि सहने वा जस्तोसुकै कामको लागि पनि विरोध गर्ने दुवै बानी हानिकारक हुन् ।

अहिले काम गर्ने समय शुरू भइसकेको छ । गत आर्थिक वर्षको एक वा डेढ महीनामा जे जति भयो त्यो केवल ट्रेलर थियो । ट्रेलर यस अर्थमा कि पहिलेको संयन्त्रले छोडेर गएको बजेटमा नै केही गर्नु थियो । पहिलेको नीति तथा कार्यक्रमको आधारमा नै काम गर्नुपर्ने थियो । साथै पहिलेको कर्मचारी संरचनाको जुन अवस्था थियो, सोही बमोजिम रहेर काम गर्नुपर्ने थियो । यसले गर्दा केही अप्ठ्याराहरू पनि थिए । तर अहिले त अवस्था फेरिएको छ । अवस्था फेरिएको छ भन्नुको अर्थ यो हो कि अहिले आफ्नो नीति तथा कार्यक्रम र बजेट छ । आफ्नो संरचना छ र कतिपयले राम्रो ट्रेलर देखाइसकेका छन् । राम्रो काम गर्न सकिन्छ भनेर धेरैले देखाउँदा अब केही आस पलाएको छ । पहिलेको भन्दा अहिलेको नेतृत्वप्रति धेरै ठाउँमा सर्वसाधारणको आस पलाउनु भनेको स्थानीय तहमा लोकतन्त्र बलियो हुनु हो । स्थानीय तहमा लोकतन्त्र बलियो हुँदै गएको प्रमाण यो पनि हो कि अब सर्वसाधारणले पनि सोझै पालिका सरकारले केही गरोस् भन्ने सकारात्मक भाव राखेको देखिन्छ । र सकारात्मक भावलाई साँच्चीकै धेरैजनाले निस्स्वार्थ सहयोग गरेका पनि छन् । अबको समयमा जहाँ नयाँ जोश देखिएको छ, जहाँ नयाँ किसिमले कामको थालनी गरिएको छ, तिनीहरूप्रति सबैतिरबाट सकारात्मक भावको सञ्चार भएको छ । यस जोशलाई, जाँगरलाई र काम गर्ने तत्परतालाई सबैले मिलेर कायम राख्नु पर्दछ किनभने जनप्रतिनिधि भनेका सबैका साझा हुन् । सबै मिलेर सकारात्मक ऊर्जा प्रदान गरिरह्यौं भने निस्सन्देह पहिलेको कार्यपालिकाको भन्दा अहिलेको कार्यपालिकाले धेरै राम्रो गर्न सक्ने अवस्था छ । यसको एउटा कारण के पनि हो भने पहिलेको कार्यपालिकाले काम गर्ने धेरै आधार सिर्जना गरिसकेको छ । अब राम्रो पिच बनिसकेको सडकमा नयाँ जोशका साथ नयाँ गाडी इमानदारीपूर्वक सही दिशामा कुदाउनु छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here