धेरै अर्थमा अहिले सबैको लागि अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । अप्ठ्यारो स्थितिको सामना गर्न पहिले नै क्षमता विकसित गरेका मुलुक वा व्यक्तिका लागि त्यति सकसपूर्ण नभए पनि सन्तोषजनक मनस्थिति कसैको पनि छैन । खासगरी नेपालजस्तो देशमा, जहाँ सबै वस्तु बाहिरबाट खरीद गर्नुपर्छ, उसको राष्ट्रिय क्रय क्षमता घट्दै गएको छ । यो क्ष्Fमतामा ¥हास आउनुमा हिजो कोरोनालाई दोष दिइएको थियो भने अहिले रूस–युक्रेन युद्धलाई । त्यसमाथि जलवायु परिवर्तनको टडकारो असर नेपालको अन्न भण्डार मानिने तराईमा परेको छ । किनकि असार १५ मा राम्रो पानी परेर धान रोपाइँ भएपछि अहिलेसम्म एकदुई झरबाहेक पानी परेको छैन । धानखेतमा धाँजा फाटेका छन् । कहीं रोपाइँ नै हुन सकेको छैन भने कहीं रोपेको धान डढ्ने अवस्था उपस्थित भएको छ । युद्धको असरले कल–कारखाना बन्द छन्, किनकि विश्वलाई एक तिहाईभन्दा बढी अन्नबाली आपूर्ति गर्ने युक्रेन युद्धमा व्यस्त छ । इन्धन र रसायन उपलब्ध गराउने रूस युद्ध लडिरहेको छ । उपरीमाथि थुपरी भनेजस्तै यसै बेला कोरोनाको लहर उठ्न थालेको छ । धेरै मुलुकमा कोरोना–सङ्क्रमण दर बढ्न थालेको छ र मानव ज्यानको पनि क्षति भइरहेको छ । थाहा नपाइँदोगरी नेपालमा पनि ज्यान गइसकेको छ ।

यी विपत्तिप्रति नेपाली जनता उदासीन छ । किनकिस पहिलो कुरा त उसमा ज्ञानको अभाव छ, दोस्रो उसको क्रयशक्ति अपारदर्शी किसिमले बढेको छ । तर उसलाई के थाहा छैन भने आफ्नो उत्पादनले खाद्यान्नसमेत धान्न नसक्ने मुलुकसँग विदेशी मुद्राको अभाव भयो भने क्रयशक्ति जतिसुकै बढे पनि हातमुख जोर्न नपाएर भोकमरीको सामना गर्नुपर्नेछ । संयुक्त राष्ट्रसङ्घको सम्बद्ध निकायले यसै पनि विश्वमा खाद्यान्न उत्पादन घट्दो क्रममा रहेको बताइसकेको छ । त्यसमाथि जलवायु परिवर्तनका कारण खडेरीले विश्वका आधाभन्दा बढी मुलुकलाई गाँज्न थालेको छ । अफ्रिकी केही मुलुकहरू त कैयौं वर्षदेखि खडेरीको सामना गरिरहेका छन् । विकसित भनिएका धेरै युरोपेली मुलुकहरू पनि तातो हावा र खडेरीको सामना गरिरहेका छन् । प्रकृतिको खानी, विश्वको दोस्रो जलशक्ति सम्पन्न नेपालमा त भूमिगत पानी सुक्दै तलतल जान थालेको छ । धेरै चापाकलहरू सुकिसकेका छन् । पानीको आधार वन–जङ्गल र पानी–खेतीको आधार चुरे लोभीपापीहरूको गिद्धे दृष्टिबाट जर्जर भइसकेको छ ।

यी कहालीलाग्दा तथ्याङ्क प्रस्तुत गर्नुको उद्देश्य नेपाली जनतालाई तर्साउनु होइन, सचेत गराउनु हो कि अब मनमौजी भएर होइन, वर्तमानलाई चिनेर सम्भावित प्रतिकूल परिस्थितिसँग जुझ्न तयार हुनका लागि हो । सन्तानले अभिभावकको आड पाएको हुन्छ, जस्तोसुकै अवस्थामा निर्भय रहन्छ । तर हाम्रो अभिभावक सर्वथा गैरजिम्मेवार छ । बाँदरले बाढीमा पानी नाकमाथि पुगेपछि आफ्नै बच्चालाई तल राखेर उसको बुई चढी आफ्नो प्राणरक्षा गर्छ । नेपाली सत्ताधारीहरू यसै प्रवृत्तिका छन् । देशमा आइपरेको सङ्कटको किञ्चित वास्ता नगरी कुर्सी पाउन आज पनि विदेशी दरबारको फन्को मारिरहेका छन् । यिनले लगाउने फुर्ति नेपालीले रगत पसिना गरी कमाएको विप्रेषणले गर्दा हो । विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको छ । जुन त्यो रित्तिन्छ यिनीहरू सिङ्गापुरतिर भाग्छन् । तसर्थ नेपाली जनता स्वयं सचेत भएर कोरोनाबाट ज्यान जोगाउँदै प्रतिकूल प्राकृतिक अवस्थाको सामना गर्न तयार बस्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here