प्रस, सेढवा, ३ साउन/

पर्सा जिल्लाका ग्रामीण किसानहरूले वर्षेबाली धानखेती गर्न आफूहरू विभिन्न समस्याका घेरामा परेको गुनासाहरू गरेका छन् । यस वर्ष एक बिघामा धानखेती गर्न हजारौं रुपैयाँ खर्च गर्नुपरेको उनीहरूको दुःखेसो छ ।

किसानहरूले रासायनिक मलको अभावलाई धानखेतीमा प्रमुख समस्या रहेको बताएका छन् ।  यस वर्षको वर्षेबाली धानखेती गर्नको लागि नेपाल सरकारले पर्याप्त रासायनिक मल उपलब्ध नगराउँदा किसानहरू मलविनै खेती गर्न बाध्य छन् । ब्याडमा बीउ राख्ने समयदेखि नै डिएपी, युरिया र पोटासको अभाव झेल्नुपरेको जगरनाथपुर गाउँपालिका वडा नं ३ का किसान महेन्द्र महरा चमारले बताए । बीउमा छर्ने बेला डिएपी प्रतिकिलो ६० रुपैयाँ र युरिया प्रतिकिलो ४५ रुपैयाँमा खरीद गर्नुपरेको चमारले बताए । नेपाल सरकारको अनुदानको मल वितरण गर्ने जिम्मा कृषि सामग्री कम्पनी र साल्ड ट्रेडिङ कम्पनीले पाएका छन् । तर साल्ट ट्रेडिङ कम्पनीले मात्र सीमित परिमाणमा कृषि सहकारी संस्थाका माध्यमबाट मल वितरण गरिरहेको छ । माग धेरै र आपूर्ति सा¥है कम भएकोले वितरणमा निकै कठिनाइ भएको सुपौली कृषि सहकारी संस्थाका सञ्चालक दीपक दासले बताए । मल अभावको कारण प्रतिकिसान १२ किलो मात्र मल दिएको दासले बताए । अहिले रोपाइँको समयमा प्रतिकट्ठा कम्तीमा अढाई/अढाई किलो डिएपी र युरिया छर्नुपर्छ । तर मल अभावको कारण किसानहरू मलविना नै रोपाइँ गर्दैछन् ।

त्यस्तै, इन्धनको मूल्यमा भएको वृद्धिका कारण रोपाइँ सा¥है महँगो भएको किसानहरूको गुनासो छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै खेत जोताइको दर महँगो भएको कारण किसानहरू थप आर्थिक भारमा परेका छन् । गत वर्षको तुलनामा यसपालि खेत जोताइ दर मूल्य दोब्बरले भन्दा बढेको छ । गत वर्ष खेत जोताइ दर ८०० देखि एक हजार रुपैयाँ प्रतिघण्टा थियो । तर अहिले एक हजार८०० देखि दुई हजार २०० रुपैयाँ प्रतिघण्टाको दरले खेत जोताइ भइरहेको छ ।

यस वर्ष रोपाइँमा किसानले मौसमको मार पनि नराम्ररी झेल्नुपरेको छ । रोपाइँको समयमा वर्षा नहुँदा अधिकांश खेतमा रोपाइँ भएको छैन भने रोपाइँ भएका धानबाली पहेंलो भई सुक्ने अवस्थामा पुगेको छ । आकाशे पानीको भरमा हुने खेती सिंचाइको अभावमा खेत बाँझो हुने देखिएको छ । लामो समयदेखि पानी नपरेको तथा घाम बढेर नदी, खोला र कुलोमा पानी सुक्दै जाँदा कृत्रिम सिंचाइ गर्न पनि समस्या उत्पन्न भएको छ । दमकलबाट सिंचाइ निकै खर्चिलो भएको छ । एक बिघा खेत सिंचाइ गर्दा १५–२० घण्टा लाग्ने र दमकलको भाडा प्रतिघण्टा ३०० देखि ४०० रुपैयाँ रहेको छ ।

किसानले सबै समस्या झेल्दै बाली उत्पादन गरे पनि उत्पादनको उचित मूल्य पाउने गरेका छैनन् । अहिले किसानहरूले चैते धान (हर्दिनाथ) बाली भिœयाउँदै छन् । सो धान किसानले प्रतिक्वीन्टल एक हजार ७०० देखि एक हजार ८०० रुपैयाँको दरमा बिक्री गर्न बाध्य छन् । व्यापारीहरूले नयाँ धानको मूल्य त्यति नै भएको भन्दै सो मूल्य कायम गरेका छन् । खेतीको समयमा पैसाको आवश्यकता बढी भएर गर्जो टार्न बाध्य भएर कम मूल्यमा धान बेच्नुपरेको किसानहरूको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here