प्रस, वीरगंज, ३ साउन/

पर्सा जिल्लाका विभिन्न क्षेत्रमा भूजलको सतह घट्दै गएपछि महानगरपालिकामा पनि भूमिगत पानीको सतह घटेको छ । महानगरमा असार महीनाभरि चार दिन मात्र वर्षा भएको थियो । ग्रामीण क्षेत्रमा भने दुई साताअघिसम्म वर्षा भयो तर पनि थुप्रै ठाउँमा भूमिगत पानीको सतह घटेर अहिले सिंचाइको लागि समस्या भएको छ ।

ग्रामीण क्षेत्रमा धानखेतीको लागि अहिले पनि आकाशे वर्षाको पर्खाइमा किसानहरू छन् भने केही समृद्ध किसानहरू बोरिङ, पम्पसेटबाट सिंचाइ गर्दैछन् । तर भूमिगत पानीको सतह घटेकोले अहिले उनीहरूलाई पनि समस्या भएको छ । पानी नपरेर जिल्लाका थुप्रै ठाउँमा धानबाली डढेर नष्ट हुँदैछन् । कतिपय किसानको धानखेतीमा पानीको अभावले खेतमा धाजा परेको छ । पानीको सतह कम भएपछि ठोरी, जगरनाथपुर, जीराभवानी, पोखरिया, कालिकामाईलगायतका क्ष्Fेत्रमा पिउने पानीको पनि समस्या हुन थालेको छ । महानगरमा पनि पानीको सतह घटेकोले थुप्रै वडामा अहिले पानीको हाहाकार भएको छ ।

नेपाल खानेपानी संस्थानबाट उपलब्ध पानीबाहेक घरमा चापाकल गाडेर बोरिङ गरी खानेपानी प्रयोग गर्ने महानगरका बासिन्दाहरूलाई अहिले समस्या भएको छ । चापाकल सुक्ने क्रममा छन् । कतिपय वडामा एकाबिहान मात्र चापाकलबाट पानी निस्किने गरेको छ भने दिनभरि पानी आउन छोडेको छ । वडा नं १६ का मुकेश सिंहले भूमिगत पानीको सतह कम भएर चापाकलबाट टङ्कीमा पानी भर्न धेरै समय लाग्ने गरेको बताए । उनले सामान्य अवस्थामा चापाकलबाट मोटरले पानी तान्दा एक घण्टामा टङ्की भर्ने गरेकोमा अहिले दुई/तीन घण्टामा पनि टङ्की भर्न नसकेको
बताए ।

वीरगंज–३ का पनि थुप्रै चापाकल सुकेका छन् । खानेपानीको लागि समस्या भइरहेको स्थानीय रवि ठाकुरले बताए । गत वर्ष मात्र २८० फिट गहिराइको चापाकल गाडेकोमा यस वर्ष एकाबिहानबाहेक अन्य समयमा पानी आउन छाडेको बताए ।

वडा नं १ का पनि केही टोलमा पानीको समस्या देखिएको छ । महानगरका थुप्रै वडामा पानीको सतह घटेपछि चापाकल सुकिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here