प्रस, परवानीपुर, ३ साउन/
आन्तरिक राजस्व कार्यालय, वीरगंजले लक्ष्यभन्दा ५३ करोड कम राजस्व सङ्कलन गरेको छ । गत आव २०७८/७९ मा कार्यालयले राजस्व विभागबाट पाएको रु नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजारको राजस्व लक्ष्यमा ९२.३० प्रतिशत अर्थात् रु आठ अर्ब ७१ करोड ६९ लाख नौ हजार सङ्कलन गरेको छ ।
कार्यालयले विभागबाट आयकरतर्फ दुई अर्ब ४९ करोड ३३ लाख १७ हजार लक्ष्य पाएकोमा लक्ष्यभन्दा ९.७५ प्रतिशत बढी अर्थात् दुई अर्ब ७३ करोड ६३ लाख ५६ हजार, घरबहाल करतर्फ चार करोड ३४ लाख ६६ हजार लक्ष्य पाएकोमा ८६.५९ प्रतिशत अर्थात् तीन करोड ७६ लाख ३७ हजार, ब्याज करतर्फ सात करोड ९० लाख ६८ हजार लक्ष्य पाएकोमा ६८.६५ प्रतिशत अर्थात् पाँच करोड ४२ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ ।
त्यसैगरी, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब २३ करोड ५३ लाख दुई हजार राजस्व लक्ष्य पाएकोमा ८५.७२ प्रतिशत अर्थात् एक अर्ब ९१ करोड ६१ लाख २८ हजार, आन्तरिक अन्तःशुल्कतर्फ चार अर्ब ५९ करोड ३२ लाख २२ हजार लक्ष्य पाएकोमा ८६.४८ प्रतिशत अर्थात् तीन अर्ब ९७ करोड २४ लाख ५९ हजार गरी आठ अर्ब ७१ करोड ६९ लाख नौ हजार राजस्व कार्यालयले सङ्कलन गरेको छ ।
जबकि अघिल्लो आव २०७७/७८ मा कार्यालयले नौ अर्ब ८१ करोड ६८ लाख दुई हजार लक्ष्य पाएकोमा ८२.९४ प्रतिशत अर्थात् आठ अर्ब १४ करोड २१ लाख एक हजार राजस्व सङ्कलन गरेको थियो ।
बितेको आर्थिक वर्षमा लक्ष्य बढी पाएको, बजारमा आर्थिक तरलता घटेको, ढुवानीमा मूअक हटाइएको र मदिरा उद्योगबाट अन्तःशुल्कमा कम राजस्व उठेकाले राजस्व सङ्कलनमा ¥हास आएको कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत सञ्जय सरदार क्षत्रीले जानकारी दिए ।
विगतमा पर्सामा सातवटा मदिरा उद्योग सञ्चालनमा रहे तापनि अहिले चारवटा उद्योगले उत्पादन र निकासी गरिरहेको र बाँकी तीनवटा उद्योगमध्ये एशियन डिस्टिलरी बन्द हुने प्रक्रियामा गएको, एक्शन वाइन र जयश्री धवलागिरिको उत्पादन ठप्प रहेको छ । पर्सामा हिमालयन, उदयपुर, अरुणोदय र स्नोल्यान्ड डिस्टिलरी सञ्चालनमा छन् ।