जलेश्वर, ३ साउन/रासस

महोत्तरी जिल्लासहित मिथिलाञ्चलभरि अहिले मधुश्रावणीको रौनक बढेको छ ।

मिथिलाञ्चल क्षेत्रका ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिता छोरीहरू सो¥ह शृङ्गार गरी हातहातमा डाला लिएर समूहमा गीत गाउँदै फूल टिप्न जाँदै गरेको दृश्यले अहिले मिथिलाञ्चललाई रङ्गीचङ्गी र मनोरम बनाएको छ ।

यो रौनक साउन शुक्ल पञ्चमी तिथि लागेसँगै मिथिलाञ्चलमा मधुश्रावणी पर्व शुरू भएपछि बढेको हो ।    साउन शुक्ल पञ्चमी तिथिदेखि मिथिलाञ्चलमा शुरू भएको मधुश्रावणी पर्व आउँदो १५ दिनसम्म चल्नेछ । यस पर्वमा नवविवाहिताहरू प्रत्येक दिन साँझ नजीकका फूलबारी, मठ, मन्दिर, चौतारा र सार्वजनिक पाटी–पौवामा दौंतरीहरूका साथ गीत गाउँदै, हाँसो ठट्टा गर्दै गएर फूल टिपेर ल्याउने गर्छन् भने सोही फूलबाट प्रत्येक दिन बिहान भगवान् शिव, पार्वती र नागदेवताको पूजा गर्छन् ।

ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिता छोरीहरू आफ्ना पतिको दीर्घायु एवं सुख, शान्तिको कामना गर्दै १५ दिनसम्म निकै महŒवका साथ यो पर्व मनाउने गर्छन् ।

यस पर्वको पहिलो दिन अर्थात् साउन शुक्ल पञ्चमीको पहिलो दिन मैना पञ्चमीका रूपमा र १५औं दिन अर्थात् कृष्ण पञ्चमी अन्तिम दिनलाई मधुश्रावणी भन्ने परम्परा रहेको छ ।

मधुश्रावणीको अन्तिम दिन भगवान् शिव, पार्वती र नागदेवताको पूजा गरेपछि बेहुलाले नवविवाहिता बेहुलीको तिघ्रामा कपासको बत्तीमा आगो बालेर पोलेर पर्वको अन्त्य गर्ने परम्परा रहेको छ । जसलाई टेमी भन्ने गरिन्छ । बेहुलाले पोलेपछि बेहुलीको पोलेको ठाउँमा फोका आएमा उनीहरूको दाम्पत्य जीवन सफल र सुखी हुने जनविश्वास रहिआएको छ भने फोका नभएमा नराम्रो जीवन रहने जनबुझाइ रहिआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here