रक्तसञ्चार केन्द्र वीरगंजमा अहिले रगत अभाव हुने समय हो । सामान्यतया गर्मीयाममा रगतको अभाव बर्सेनि हुन्छ । अत्यधिक गर्मीका कारण मानिसहरू रक्तदान गर्न सक्दैनन् भने यही मौसममा अनेकथरीका बिरामीहरूको सङ्ख्यामा वृद्धि हुने भएकाले रगतको आवश्यकता पनि बढ्ने गर्छ । माग र आपूर्तिमा समायोजन नहुँदा गर्मीमा प्रत्येक वर्ष रगतको अभाव हुँदै आएको छ । रक्तसञ्चार केन्द्रको वार्षिक क्यालेन्डर अनुसार अहिले रक्तदान भइरहे पनि रक्तदाताहरूको सहभागिता उत्साहजनक भने छैन । अहिलेसम्म रगतको बढ्दो मागलाई थेग्नेसम्मको काम भएको छ तर यथावस्थामा धेरै दिन थेग्न भने गा¥हो हुन्छ । पर्सासहित बारा, रौतहट, सर्लाहीसम्म रक्तसञ्चार केन्द्र, वीरगंजबाटै रगतको आपूर्ति हुने गर्छ । नेपाल सरकारले  नेपाल रेडक्रस सोसाइटीबाहेक वीरगंजमा नेशनल मेडिकल कलेजलाई आफ्नो छुट्टै रक्तसञ्चार केन्द्र सञ्चालनको इजाजत दिएको छ । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको रक्तसञ्चार केन्द्र उसको आफ्नै अस्पतालको लागि अपुग छ । उसले अन्य अस्पताललाई सघाउने गरेको छैन । सट्टाभर्नाबाट रगतको आपूर्तिलाई कलेजले अहिलेसम्म धान्दै आए पनि अत्यधिक मागको बखत यहाँका बिरामीहरूको भार पनि रक्तसञ्चार केन्द्र, वीरगंजले नै थेग्दै आएको छ । 

वीरगंजमा साना–ठूला गरेर अहिले ३१ भन्दा बढी अस्पताल छन् । त्यस्तै, कलैया, सिमरा, चन्द्रपुर, गौर, हरिवन आदि ठाउँमा रहेका अस्पतालहरूले माग गरेका रगत वीरगंजबाट आपूर्ति हुने गरेको छ । केन्द्रमा अहिले मासिक साढे सात सय पिन्ट बढी रगतको माग छ । मेडिकल हब भनिने चितवनको तुलनामा वीरगंजमा रगतको माग न्यून छ । राजधानीमा वार्षिक दुई लाख पिन्ट रगतको खपत छ भने भक्तपुरमा ३५ हजार र चितवनमा ३० हजार पिन्टको हाराहारीमा रगतको खपत छ । वीरगंजमा रगतको अभाव हुन नदिनका लागि लामो समयपछि सरकारले जडान गरेको कम्पोनेन्ट मेशिन चालू भएको छ । तर कम्पोनेन्ट मेशिनको बारेमा स्थानीय चिकित्सक कम जानकार

भएका कारण अहिलेसम्म यसको उद्देश्य अनुसार प्रयोग भने हुन सकेको छैन । प्लाज्मा, प्लेटलेट र प्याकसेल रगतको छुट्टाछुट्टै माग भएर सो अनुरूपको आपूर्ति हुने हो भने केही हदसम्म रगत अभाव टर्न सक्थ्यो । अहिले पनि होल रगत बिरामीहरूमा खपत हुँदै आएको छ । चिकित्सकहरूले कम्पोनेन्ट मेशिनको प्रयोग बढाउने कार्य गरेमा एउटै रगतबाट तीन थरीका रगत छुट्याएर बिरामीको आवश्यकता अनुसार रगतको आपूर्ति गर्न सकिन्थ्यो । तर यस्तो हुन नसकेको कारण जहिले रगत अभाव हुने गरेको छ । वीरगंजमा रगतको खपत अन्य स्थानको तुलनामा कम छ । कम्पोनेन्ट मेशिनको प्रयोग भएमा रगतको अभाव हुँदैनथ्यो । होल रगतको साटो एउटै रगतबाट तीन थरीका रगत बनाउन सक्ने प्रविधिको प्रयोग अविलम्ब गर्नजरुरी छ । यसको प्रयोग सार्थकरूपबाट भएर रगतको अभाव भएमा मात्र अन्य विकल्पको खोजी गर्नुपर्ने अवस्था
आउँथ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here