प्रस, वीरगंज, २ साउन/
नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र वीरगंजले गत आव २०७८/७९ मा पाँच अर्ब २५ करोड ८२ लाख ९२ हजार महसूल सङ्कलन गरेको छ । गत आवको साउनदेखि असारसम्म १२ महीनामा ५३ करोड ४४ लाख ५८ हजार युनिट बिक्री गरेर त्यति बराबरको महसूल सङ्कलन भएको वितरण केन्द्र वीरगंजका प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।
गत आवमा सङ्कलन भएको महसूल अघिल्लो आवभन्दा ३० प्रतिशतले बढी हो । अघिल्लो आव २०७७/७८ मा वितरण केन्द्र वीरगंजले ३७ करोड ३० लाख ९५ हजार युनिट बिक्री गरेर कुल तीन अर्ब ६७ करोड ६० लाख १४ हजार महसूल सङ्कलन गरेको थियो ।
आव २०७७/७८ मा कोरोना महामारीका कारण केही महीना उद्योग सञ्चालन नहुँदा उक्त आवमा कम बिजुली बिक्री भएको थियो भने राजस्व पनि कम सङ्कलन भएको थियो । प्रमुख झाका अनुसार गत आवमा दुई हजार पाँच नयाँ ग्राहक थपिएको उनले बताए । अब वितरण केन्द्र वीरगंज मातहत महानगरपालिकाका ३२ वटा वडा, बाराको विश्रामपुर, प्रसौनी, परवानीपुर गाउँपालिका गरी कुल ५१ हजार २६५ ग्राहक छन् । जसमध्ये दुई हजार ७०० ग्राहक साना–ठूला उद्योग रहेका उनले बताए ।
त्यसैगरी, आव २०७७/७८ भन्दा आव २०७८/७९ मा तीन प्रतिशतले विद्युत् चुहावट घटेको उनले बताए । गत आवमा विद्युत् चुहावट ४.२ प्रतिशत थियो भने सोभन्दा अघिल्लो आवमा सात प्रतिशतको हाराहारी थियो । तीन प्रतिशतले विद्युत् चुहावट रोकिंदा १६ करोड ५० लाख मूल्य बराबरको एक करोड ६५ लाख युनिट बिजुली बचत भएको छ ।
विद्युत् चुहावट दुई प्रकारले हुन्छ । एउटा प्राविधिक र अर्को अप्राविधिक । दूरीको आधारमा एउटा तारबाट अर्को तार हुँदै चुहावट हुने बिजुलीलाई प्राविधिक भनिन्छ भने मिटर टेम्परिङ र हुकिङलाई अप्राविधिक भनिन्छ ।