प्रस, वीरगंज, १ साउन/
शहरी विकास तथा भवन निर्माण कार्यालयबाट एक लाख ७० हजार घूस रकमसहित पक्राउ परेका सबइन्जिनीयर रूपेश दुबेलाई छाड्ने तयारी भइरहेको जनाइएको छ ।
ठगी मुद्दामा आरोपित दुबेको अनुसन्धान जिल्ला प्रहरी कार्यालय, पर्साले द्रुतमार्गबाट पूरा गरी जिल्ला अदालत, पर्सामा बुझाउने तयारी गरेको छ ।
ठगी मुद्दा तथा आर्थिक लाभको मुद्दामा थुनुवामा रहेका दुबेलाई छाड्न प्रहरीले १० दिनभित्रमा नै अनुसन्धान पूरा गरी फाइल बुझाउने भएपछि शङ्काको घेरामा प्रहरी पनि देखिएको छ ।
ठगी मुद्दामा कम्तीमा २५ दिनसम्म थुनामा राखी अनुसन्धानपछि अदालतमा पठाउने नियम रहे तापनि प्रहरीले १० दिनमैं दुबेको अनुसन्धान पूरा गरी अदालतमा बुझाउन लागेको छ ।
दुबे पक्राउ पर्नुभन्दा पहिले ठगी मुद्दामा पक्राउ परेका आधा दर्जन व्यक्ति अहिले पनि प्रहरी थुनुवामैं छन्, प्रहरीले थुना म्याद २५ दिनको प्रतीक्षामा छ । जबकि सोही प्रकृतिका मुद्दामा पक्राउ परेका व्यक्तिहरूलाई लेनदेनको क्रममा चेक बाउन्स गराइ उनीहरूमाथि सो मुद्दा दर्ता गराएको देखिन्छ । सरकारी कर्मचारीले सेवाग्राहीसँग घूसको रकम माग्नु नै ठूलो अपराधको रूपमा कानूनले लिने गरेको छ । जबकि दुबेलाई रङ्गेहात पक्राउ परी प्रहरीको जिम्मा लगाइएको थियो ।
भवन कार्यालयका सबइन्जिनीयर दुबे असार २० गते साँझ एक लाख ७० हजार घूस रकमसहित पक्राउ परेका थिए । दुबेमाथि प्रहरीले असार २२ गते मुद्दा दर्ता गरी सात दिनको म्याद थपेको थियो ।
प्रदेश सरकारका वन तथा पर्यटन मन्त्रालयले पर्सामा पठाएको रकमबाट सबडिभिजन वन कार्यालय वसन्तपुर तथा मनवामा निर्माणाधीन भवनको मूल्याङ्कन गरेबापत दुबेले सो रकम घूसको रूपमा माग गरेका थिए ।