ओमप्रकाश चौधरी, सेढवा, १ साउन/
दुर्ई सातादेखि वर्षा नहुँदा तथा चर्को घाम र गर्मीका कारण ग्रामीण भेगमा जमीनमुनि पानीको सतह घटेको छ । जसले गर्दा भूमिगत सिंचाइको माध्यमबाट सिंचाइ गर्न कठिनाइ भएको छ ।
ठोरी गाउँपालिका–४ विजयबस्तीका किसान रामबहादुर श्रेष्ठले पानी नपरेको कारण खेतमा लगाएको धानबाली पहेंलो भई ओइलाएको बताए । यस क्षेत्रमा कुलो तथा बाँध नभएकाले आकाशे पानी तथा भूमिगत सिंचाइको भरमा किसानहरूले खेती गर्दै आएको श्रेष्ठले बताए । तर पानी नपर्दा जमीनमुनि पानीको सतह कम भई बोरिङबाट पानी तान्न निकै कठिनाइ भइरहेको उनले बताए ।
कतिपय किसानहरूले दश फिटसम्म गहिरो बनाइ दमकलले पानी तानेको र सामान्य चालभन्दा बढी चालमा चलाउँदा मात्र दमकलले पानी तान्न सकेको श्रेष्ठले बताए ।
त्यस्तै, ठोरी गापा–५ गडुवालाइनको अवस्था पनि उस्तै छ । स्थानीय देवीप्रसाद दाहालले खानेपानी तथा अन्य घरेलु प्रयोजनका लागि जडान गरिएका चापाकलबाट पानी तान्न समस्या भएको बताए । चापाकलको पानी नसुके पनि पानीको सतह धेरै तल गएको हुँदा पानी तान्न चापाकलको ह्यान्डिल धेरै चलाउनुपरेको र पानी कम आउने गरेको दाहालले बताए ।
जीराभवानी तथा पटेर्वासुगौली गापामा जडान गरिएका आफैं पानी आउने धाराहरू पनि सुक्न थालेका छन् । जीराभवानी गापा–२ सेढवाका वीरेन्द्र चौधरीका अनुसार गाउँका दर्जनौं आफैं पानी आउने धाराहरू सुकेको बताए । केही धाराहरूबाट ८० प्रतिशतसम्म कम पानी आउने गरेको बताए । त्यस्तै, खोला, नदी, कुलोको मुहान सुकेर पानी निकै कम आइरहेको सो क्षेत्रका किसानहरूको भनाइ छ ।