प्रस, वीरगंज, ३१ असार/
पर्सा जिल्लामा गर्मी अत्यधिक बढ्न थालेपछि विभिन्न पालिकाहरूले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । पर्साको वीरगंज महानगरपालिकाले साउन १ देखि २० गतेसम्म गर्मी बिदा दिने निर्णय गरेको छ । सो अवधिमा सबै सरकारी तथा निजी विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
यसअघि गर्मी बढेको भन्दै बुधवारदेखि शुक्रवारसम्म तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिइएको वीरगंज महानगरका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतले बताए ।
गर्मी नबढेको भए साउन ८ गतेदेखि पूरै मसान्तसम्म गर्मी बिदा दिने तयारी थियो । वर्षा नभएर गर्मी बढ्दा कक्षाकोठामा विद्यार्थीहरू बेहोश भएर ढल्न थालेपछि विभिन्न पालिकाहरूले विद्यालय बन्द गर्न बाध्य भएको बताइएको छ ।
पर्साका पोखरिया, धोबिनी, बहुदरमाई, छिपहरमाई लगायतका पालिकाहरूले विद्यालय बन्द गर्ने निर्णय गरिसकेको जनाइएको छ ।
कृषि औजार अनुसन्धान केन्द्र, रानीघाट, वीरगंजमा तापक्रम मापन गर्ने युनिटका अनुसार शुक्रवार मात्रै अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस मापन गरिएको कार्यालयका प्रमुख सचिन मिश्रले बताए । उनका अनुसार एक सातादेखि निरन्तर तापक्रम बढिरहेको र केही दिन अझै पानी पर्ने सम्भावना छैन ।