प्रस, वीरगंज, ३१ असार/

वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले शुक्रवार आगजनी गरेका छन् । वार्षिक परीक्षाको केन्द्र परिवर्तन गरिएको भन्दै विभिन्न विद्यार्थी सङ्गठनका विद्यार्थी नेताहरूले क्याम्पसमा आगजनी गर्दै प्रदर्शन गरेका थिए ।

क्याम्पस प्रमुख उमेशकुमार चौरसियाको कार्यकक्षअगाडि कक्षाकोठाबाट टेबुल, बेन्च थुपारेर विद्यार्थीहरूले आगो लगाएका थिए । त्यसपछि विद्यार्थीहरूको समूहले नाराबाजी गर्दै प्रदर्शन गरेको विद्यार्थी नेताहरूले बताएका छन् । आगजनी गरेपछि प्रहरीलाई खबर गरिएको थियो ।  वारुणयन्त्रले आगो निभाएको थियो ।

विद्यार्थीहरूको उग्र अवस्थालाई नियन्त्रणमा लिने प्रयास भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । “साँझ ६ बजे करीब दुई सय विद्यार्थीको समूहले आगजनी गरेका थिए, अहिले आगो निभिसकेको छ,” उनले भने, “विद्यार्थीको प्रदर्शन जारी छ, भीडलाई साम्य पार्ने प्रयास भइरहेको छ ।”

प्रहरीले चारजना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

ठाकुर राम क्याम्पसका विद्यार्थीहरूको परीक्षा केन्द्र गत वर्षदेखि त्यहाँबाट वीरगंजमा अन्यत्र, कलैया, सर्लाहीलगायतमा परिवर्तन गरिएको विरोधमा विद्यार्थीहरूले विरोध जनाएका हुन् । यता, क्याम्पस प्रशासनका अनुसार ठाकुर राममा चिट चोर्ने प्रवृत्तिलाई अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयको नियम अनुसार एक क्याम्पसको अर्को क्याम्पसमा केन्द्र परिवर्तन गर्ने नियम अनुसार विद्यार्थीहरूको भविष्यको लागि उपयुक्त निर्णय भएको छ ।

ठाकुर राम क्याम्पसको वार्षिक परीक्षा केन्द्र ठाराबमैं राख्दा नपढे पनि चिट चोर्न पाइहालिन्छ भन्ने मानसिकता विद्यार्थीहरूमा पलाएको क्याम्पसका प्राध्यापकहरूको छ । काठमाडौंबाहिर सबैभन्दा पुरानो क्याम्पसको रूपमा चिनिने ठाकुर राम बहुमुखी क्याम्पस विसं १९९० मा स्थापना भएको हो । अहिले विभिन्न सङ्कायका स्नातक र स्नातकोत्तर तहमा मात्रै १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ठाकुर राम बहुमुखी क्याम्पसमा बिबिए तथा बिआइटी जस्ता आधुनिक कोर्सको पनि कार्यक्रम शुरू भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here