- राजेश मिश्र
‘माइ हो, बडी कस के हमर पेट दुखाता, आजु हम पढे ना जाएम ।’ पेट दुखिरहेकोले आज विद्यालय नजाने कुरा छोराले आमासँग भन्दै थियो । आमालाई थाहा थियो कि छोरोले बहाना बनाइरहेको छ । अस्ति पनि टाउको दुखेको भन्दै छोरो विद्यालय गएको थिएन । वास्तविकता र बहानाबीचको अन्तर छुट्याउन आमालाई कठिन हुँदैन । सन्तानको बहानालाई पनि आमाले झर्को नमानी धैर्यताका साथ समाधान गर्छिन् । त्यसैले आमालाई अतुल्य मानिन्छ । सन्तानको दुःखमा दुःख र सुखमा सुखको अनुभूति गर्ने आमाको ममत्व सन्तानप्रति कहिल्यै कम हुँदैन ।
मधेसमा सन्तानले आमासँग दुःखेसो पोख्दा आमाले छोरालाई सुगा तथा छोरीलाई सुगी भनेर ममत्व जाहेर गर्छिन् । आमाले छोरासँग भनिन्, “आरे हमर सुगा, तोहर पेट दुखाता ? रह हम दवाइ क देतानी ।” छोरालाई माया गर्दै आमाले उपचार गर्ने कुरा सुनाइन् । छोराले बहाना बनाइरहेको कुरा आमालाई थाहा हुँदाहुँदै पनि छोरालाई काखमा बसाइन् । छोराको कपाल सुम्सुम्याउँदै निधारमा म्वाइ खान थालिन् । मुठी बाँधेर छोरासँग मुठीमा तीनपटक फुक्न भनिन् । छोराले मुठीमा फुकिदिएपछि आमाले छोराको पेटमाथि हातले सुम्सुम्याउँदै ‘अन्त्रु मन्त्रु छु कलन्तरु, हामरा बेटा के पेट के दर्द छुटन्तरु’ भन्दै छोराको मनोविज्ञान अनुमान गर्न थालिन् । नानीबाबुहरूको बहाना निको पार्ने यो उपाय सदियौंदेखि पुस्तान्तरण हुँदै आइरहेको छ ।
केटाकेटीहरू चेतनशील भएपछि उनीहरूले उपरोक्त मन्त्रको रहस्य मात्र थाहा पाउँदैनन्, अपितु आफ्ना सन्तानमाथि प्रयोग पनि गर्छन् । अन्तमा आमाले रोटीमा नून–तेल मोलेर छोरालाई खुवाइन् । त्यसपछि पानी खुवाउँदै छोरासँग सोधिन्, “लाल हमर, अब कइसन बा पेट के दर्द हो ?” अर्थात् “छोरो अब कस्तो छ, पेटको दुखाइ ?” छोरोले प्रतिउत्तर दिएन । चुपचाप थियो । किनभने ठीक छ भनेपछि आमाले विद्यालय पठाइदेलिन् भन्ने मनोविज्ञानले नाबालक त्रस्त थियो । आमाले पनि छोरालाई विद्यालय जाने करकाप गरिनन् । उनले सरल उपाय अपनाइन् ।
आमाले बुबासँग आँप देखाउँदै आज छोरोको पेट दुखेर विद्यालय नजाने भएकोले छिमेकी बच्चालाई दिने कुरा सुनाइन् । पत्नीको कुरा सुनेर पति मुसुक्क हाँसे । छोरालाई योे कुरा असह्य भयो । तन्किंदै छोराले भन्यो, “माइ, पहिले से अभिन पेटवा के दर्द ठीक बा । हम पढे जाइँ ?”
असारको उग्र गर्मीमा बिहानको समय नशा चढेझैं निद्रा लाग्छ । यस्तो अवस्थामा बाल्यकालीन निद्रा स्वतः खुल्ने कुरै भएन । आमाले कराउँदै पानी छर्केर उठाएपछि विद्यालय जाने बाललीला भुक्तभोगीहरूलाई अहिले पनि स्मरण होला । किताब–कापी बोरामा हालेर र काखीमा च्यापेर आँखा मिच्दै विद्यालय जाने अवस्थामा शौचादि गरेर जाने कुरै भएन । बाल्यावस्थामा शौचादिको वेग उत्पन्न नभएसम्म निवृत्त हुने कुरै हुँदैन । कक्षामा दुर्गन्धित वायुको प्रदूषण फैलिएपछि एकले अर्कामाथि शङ्का गर्ने वा दोष लगाउने बाललीला थियो । दुर्गन्ध जब शिक्षकसम्म पुग्थ्यो, तब दूधको दूध र पानीको पानी हुन्थ्यो । विद्यालयको कोठामा जब बिहानको शीतल हावाले जीउलाई स्पर्श गथ्र्यो, तब आँखा झ्याप–झ्याप नहुने कुरै थिएन । पिठ्यूँमा शिक्षकको छडी परेपछि होश खुल्थ्यो ।
‘भोरिया पढाइ’ भन्ने उहिलेको वाक्यांश अहिले ‘मर्निङ स्कूल’मा परिणत भइसकेको छ । उहिले भोरिया पढाइ भन्ने बित्तिकै बाल मस्तिष्क पढाइभन्दा खाजा पाइने कुरामा बढी केन्द्रित थियो । भुजा (मुरी) वा रोटीसँगै आँप वा गुड वा नून–प्याज आदि रुमाल वा गम्छामा बाँधेर लगिन्थ्यो । खाजाको पोको पटक–पटक हेर्ने र टिफिन हुने आतुरता उत्तिकै हुन्थ्यो । यदाकदा जलेबी वा गाँजा मिठाइ पाइहाल्यो भने मन फुरुङ्गै हुन्थ्यो । खाजाको लोभमा शुरूका केही हप्ता रमाइलो गरी बित्थ्यो । त्यसपछि एकाबिहानै उठ्नु फलामको चिउरा चपाउनुभन्दा कम थिएन ।
समयको गतिसँगै विद्यालयमा दूध र हलुवा पाउन थाल्यो । अधिकांश अभिभावक आफ्ना नानीबाबुलाई प्रत्येक दिन खाजा उपलब्ध गराउन असमर्थ थिए । सरकारीस्तरबाट विद्यालयमा दूध र हलुवा पाउन थालेपछि बालबालिकाहरूको उपस्थिति स्वस्फूर्तरूपमा बढ्न थाल्यो । अहिले पनि सरकारी विद्यालयहरूमा खाजाको व्यवस्था जारी छ । सोही खाजामा विद्यालय बन्द रहेका बेलासमेत खाजा खुवाइएको बिल भरपाई बनाएर करोडौं रुपैयाँ अपचलन गरिएको घटना अहिले चर्चामा छ । भुइँचालो, चक्रवात, कोरोनालगायतका प्राकृतिक विपत्तिका बेला आर्थिक दोहन गर्ने जमात विद्यार्थीहरूको खाजामा कसरी कुनियत देखाउँदैनन् ?
भोरिया पढाइबारे झन्डै चार दशकअघिको प्रसङ्ग अहिले पनि मस्तिष्कमा ताजै छ । कर्कटपाताले छाएको विद्यालयको छाना केही दिनअघि हावाहुरीले उडाइदिएको थियो । त्यसपछि पठनपाठन विद्यालयभन्दा केही मिटरको दूरीमा अवस्थित बगैंचामा हुन थाल्यो । गर्मी महीना भएकोले खुला स्थानमा रूखको छहारी र हावादार बगैंचामा विद्यालयको कोठाभन्दा बढी रमाइलो अनुभूति भइरहेको थियो । गर्मीयामको चर्को घाममा कर्कटपाता अत्यधिक तात्ने हुनाले विद्यार्थीहरूलाई बगैंचामा बढी रमाइलो लागिरहेको थियो ।
उक्त बगैंचामा बीसवटाभन्दा बढी विभिन्न थरीका आँपका रूख थिए । रूखका हाँगाहरूमा सुगा, काग, गौथली, गसरगट्टा, उल्लु, रूखीलगायत थरीथरीका चराचुरुङ्गीहरूको गुँड थियो । बगैंचाभन्दा केही मिटरको दूरीमा अवस्थित बाँसघारीबाट चराहरूको चिरबिर टाढासम्म सुनिन्थ्यो । छेउमैं रहेको कच्ची सडक भएर किसानहरूले हलो, कोदालो तथा महिलाहरूले डेली, खुर्पी र हँसिया लिएर खेततर्फ गइरहेका हुन्थे । चराचुरुङ्गीहरूको चिरबिर, नीलो आकाश, हरियो बगैंचा र उदाउँदो सूर्यको प्रकाश माझ गुरुले शिष्यहरूलाई शिक्षा प्रदान गर्दथे ।
बेन्चमा बसिरहेका गुरुजीले धोतीको कुनालाई बत्ती बनाएर घरीघरी नाकमा घुसाउँथे । छिंक आउँला जस्तो हुन्थ्यो तर आउँथेन । केहीबेर विद्यार्थीहरूलाई पढाइसकेपछि पुनः बत्ती नाकमा घुसाउँथे । लाख प्रयत्नको बावजूद गुरुजीलाई छिंक आइरहेको थिएन । शायद उनी छिक्न चाहन्थे । कहिले विद्यार्थीहरूलाई पढाउने त कहिले बत्ती नाकमा घुसाउने प्रक्रिया जारी थियो । तीनतर्फबाट बोरा बिछ्याएर विद्यार्थीहरू बसिरहेका थिए भने एकातर्फ बेन्चमा बसेर गुरुजीले पढाइरहेका थिए ।
उहिले शहर केन्द्रित विद्यालयहरूबाहेक गाउँदेहातका विद्यालयहरूमा विद्यार्थीहरूलाई बस्ने बेन्चको सुविधा अपवादबाहेक थिएन । जसोतसो शिक्षकहरूलाई बस्ने एकाधवटा कुर्सी र बेन्च मात्र थियो । त्यस कारण बस्नका लागि प्रत्येक विद्यार्थीले अनिवार्यरूपमा बोरा लिएर जानुपथ्र्यो । यता शिक्षकको आदेशानुसार विद्यार्थीहरूले शिर हल्लाइहल्लाइ ठूल्ठूलो स्वरमा पाठ रटिरहेका थिए । उता शिक्षकले आँखा बन्द गरी धोतीको कुना बिस्तारै नाकमा पसाइरहेका थिए । जति प्रयास गर्दा पनि छिंक नआउनाले गुरुजीको मनोदशा उग्र भइरहेको थियो ।
गुरुजीले नाकमा धोतीको कुना पसाइरहेका बेला एक्कासि दुईवटा आँप खस्यो । एउटा आँप गुरुजीको पिठ्यूँ स्पर्श गर्दै तल खस्यो । अर्को आँप उनको शिरमा खसेसँगै गुरुजीलाई तारम्तार चार/पाँच पटक छिंक आयो । उनको आँखा रातो हुनुका साथै रसायो । नाकबाट पानी चुहिरहेको थियो । नाक सफा गरेपछि गुरुजीको मुहारमा मुस्कान स्पष्ट झल्किरहेको थियो ।
एक विद्यार्थीले छेउको विद्यार्थीलाई देखाउँदै भन्यो, “माडसाहेब, हई देखी हइ छावडा के बोरा पर पानी गिर गइल बा, आ महकतो बा ।” छेउमा बसेको साथीको बोरामा पानी खसेको र उक्त पानी गन्हाइरहेको विषयमा गुरुजीसँग गुनासो ग¥यो । शिक्षकले विद्यार्थीलाई उठाएर हेर्दा विद्यार्थीको कटु पनि भिजेको थियो । गुरुजीले कारण सोधेपछि प्रतिउत्तरमा विद्यार्थीले अघिदेखि पिसाब रोकेको र डरले पाँच मिनट जाने अनुमति नमागेको बतायो । गुरुजीले विद्यार्थीहरूलाई पाँच वा दश मिनट अर्थात् दिसापिसाब लाग्यो भने निसङ्कोच आफूसँग भन्ने आश्वासन दिंदै बोरामा पिसाब गरेको विद्यार्थीलाई घर जाने अनुमति दिए ।
अहिले वैशाखदेखि शुरू हुने शैक्षिक सत्र उहिले पुसदेखि शुरू हुन्थ्यो । वैशाखको दोस्रो हप्तादेखि बिहानी कक्षा सञ्चालन हुन्थ्यो । त्यसैगरी, असारको पहिलोदेखि दोस्रो हप्ताको बीचमा अद्र्धवार्षिक परीक्षा हुन्थ्यो भने असार १५ गतेदेखि ४५ दिनको गर्मी बिदा हुन्थ्यो । परीक्षापछि गर्मीको बिदा हुने कुराले बाल मस्तिष्कलाई औंधी खुशी पाथ्र्यो । बिदाको सूचना पाएसँगै खुशीले फुरुङ्ग केटाकेटीहरू ‘गर्मी के हो गइल छुट्टी, मारे के लइका कुट्टी’ चिच्याउँदै र उफ्रिंदै आआफ्नो घर जान्थे । फर्केर नआउने उहिलेको भोरिया पढाइको सम्झना आज पनि धेरैलाई हुँदो होला ।