प्रस, वीरगंज, ३० असार/
पिस फर दलित फाउन्डेशन नेपाल मधेस प्रदेश, पर्साले जिल्लाका केही पालिकाहरूमा दलितहरूको अवस्थाबारेमा अनुसन्धान शुरू गरेको छ ।
दलितहरूको सामाजिक अवस्थामा जातीय छुवाछूत, शैक्षिक विभेद, सरकारी सेवासुविधामा विभेदसम्बन्धी विषयमा अनुसन्धान भइरहेको फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए । उनले तत्काल पर्सा जिल्लाका जीराभवानी, जगरनाथपुर र सखुवाप्रसौनी गाउँपालिका गरी तीनवटा पालिकामा अनुसन्धान भइरहेको र थप दलित रहेका पालिकाहरूमा पनि अनुसन्धान हुने बताए । यसैगरी, उनले यो अनुसन्धान बारा र रौतहटमा गरिने जानकारी गराए ।
अध्यक्ष रामले वर्तमान अवस्थामा दलितहरूप्रति हुने खुला भेदभावमा केही कमी आएको तर पूर्णरूपमा भेदभाव नहटेको र दलित भएकै कारण अहिले पनि विभिन्न खाले सामाजिक विभेदको शिकार हुनुपरेको दलितहरूले गुनासो गरेको बताए । उनले पालिकास्तरबाट हुने कुनै पनि निर्माण कार्यमा दलितहरूलाई सहभागिता नगराइएको बताए । दलितहरूले रोजगारको लागि पालिकास्तरबाट पाउने यो सुविधाबाट आफूहरू अहिलेसम्म वञ्चित भएको दुःखेसो पोखेको अध्यक्ष रामले बताए ।
पालिकाका साथै निजीस्तरमा हुने निर्माण कार्यमा पनि दलितहरूको सहभागिता निषेध गरिएको उनले जानकारी गराए । घोषितरूपमा यो कार्य नभए पनि अघोषितरूपमा पर्सा जिल्लाका दलितहरूले यस्ता खाले विभेदहरूको सामना गरिरहेको उनले बताए ।
यसैगरी, वैवाहिक कार्यक्रममा अहिले पनि दलितहरूलाई छुट्टै भोज दिने र दलितहरूको घरमा भोज खान जाँदा गैरदलितहरूबाट पकाउन लगाउने, उनीहरूबाटै पस्किन लगाउने गरेर आफ्नै कार्यक्रममा पनि दलितहरूको सहभागिता हुन नदिएको बताए । अध्यक्ष रामले अहिले पनि पर्सा जिल्लाका विद्यालयहरूमा दलित भएकै कारण बालबालिकाहरूमाथि विभेद हुने गरेको बताए । पहिलेजस्तो खुलारूपमा नभए पनि दलित छात्रछात्रासँग अहिले पनि विभिन्न बहानामा भेदभाव जारी रहेको उनले बताए ।
फाउन्डेशनले दलितहरूको सामाजिक अवस्थाबारे अध्ययन गर्न नौजनाको टोली खटाएको र सो टोलीले दिने प्रतिवेदनको आधारमा स्थानीय सरकारको ध्यानाकर्षण गराउने उनले बताए । उनले फाउन्डेशनले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले दलितहरूको लागि गरेका कानूनी व्यवस्था, सेवासुविधाबारेमा दलितहरूको घरघरमा गएर जानकारी गराउने गरेको बताए । शिक्षाको अभावमा पर्साका दलितहरू अहिलेसम्म पिछडिएका र उनीहरूका बालबालिकालाई शिक्षा दिलाउनेतर्फ फाउन्डेशनले प्राथमिकता दिएर काम गर्दै आएको अध्यक्ष्F रामले बताए ।