प्रस, गरुडा, २९ असार/

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन तथा संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् ।

बुधवार गृह जिल्ला रौतहटको राजदेवी, गौर र गरुडामा पर्यटकीय सम्भावनाका क्षेत्रहरूको स्थलगत अवलोकनपछि पूर्वप्रधानमन्त्री नेपालले संस्कृति तथा पर्यटन मन्त्रालयमा आफ्नै पार्टीको मन्त्री रहेकाले काम गर्न सजिलो हुने बताएका छन् ।

नेता नेपालले पर्यटकीय विकास र वातावरणको अन्योन्याश्रित सम्बन्ध हुनुपर्ने बताउँदै विकास गर्दा वातावरणीय सन्तुलन राख्नु उचित हुने बताए । गरुडास्थित लमाहा ब्यारेजस्थित पर्यटकीय सम्भावना बोकेको झाँझ र लमाहा खोलाको सङ्गमस्थलको अवलोकन गर्दै नेता नेपालले नगरपालिका, प्रदेश सरकार र संस्कृति तथा पर्यटन मन्त्रालय मिलेर राजदेवी, गौर तथा गरुडाको दीर्घकालीन विकास गर्ने गर्नुपर्ने बताएका छन् ।

पर्यटकीय क्षेत्रको निर्माण गर्दा वातावरणलाई ध्यान दिन नेता नेपालले आग्रह गर्दै रूखबिरुवालाई जोगाएर हरियाली बचाउनुपर्ने पनि बताएका छन् । हरियाली जोगाएर पर्यटकीय क्षेत्रको निर्माण गर्दा एकातिर रोजगारमा वृद्धि भई आर्थिक समृद्ध आउने हुन्छ भने अर्कोतिर ठाउँको पनि पहिचान कायम हुन्छ भन्दै नेता नेपालले सबै तह मिलेर विकास गर्दा सबैको स्वामित्व हुने धारणा पनि राखेका छन् ।

नेता नेपालले गृह जिल्ला रौतहटको गौर, राजदेवी, गरुडा तथा चन्द्रपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरूसित छलफल गरेका छन् भने सर्वसाधारण नागरिकको गुनासो पनि सुनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here