प्रस, वीरगंज, २८ असार/
कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्र यादवले तराई–मधेसका किसानहरूको लागि भारतबाट साइकल, मोटरसाइकलमा मल ल्याउन दिनको लागि स्थानीय प्रशासनलाई सहजीकरण गर्न निर्देशन दिएका छन् ।
कृषि अनुसन्धान निर्देशनालय, मधेस प्रदेश, परवानीपुरको सभाहलमा निर्देशनालयद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपाल सरकारले जिटुजी सम्झौता अनुसार भारतबाट अहिले पनि एक लाख मेट्रिक टन मल आउन बाँकी रहेको र साउनको पहिलो सातादेखि मात्र नेपालमा मलको उपलब्धता सहज हुने बताए । भारतसँग टाँसिएका तराई–मधेसका जिल्लाहरूका प्रमुख जिल्ला अधिकारीलाई भारतबाट साइकल, मोटरसाइकलमा भित्रिने एक/दुई बोरा मलको लागि सहजीकरण गर्न भनेको छु, उनले भने । मन्त्री यादवले नेपालमा वार्षिक सात लाख मेट्रिक टन मल आवश्यक रहेकोमा सरकारले तीन लाख मेट्रिक टन मल मात्र ल्याउने गरेकोले सधैं मलको अभाव भइरहेको बताए ।
कार्यक्रममा जसपाकी नेत्री करिमा बेगमले नेपाल सरकारको उदासीनताको कारण कृषिमा विविध समस्या रहेको चर्चा गरिन् । उनले किसानलाई समयमा मल, सिंचाइ नपाउने, यान्त्रीकरणमा अनुदान, ऋण अनुदानलगायतका सुविधाहरू वास्तविक किसानहरूले नपाउने गरेको बताइन् ।
मधेस प्रदेशकी सांसद भीमा यादवले कृषि मन्त्रालयमा यसअघि २०६४ सालमा मन्त्री बनेर अनुभव हासिल गरेका मन्त्री यादवले कृषकहरूको समस्या समाधान गर्नुपर्ने बताइन् ।
निर्देशनालयका कार्यकारी निर्देशक डा विशेश्वरप्रसाद यादवले नेपाल कृषिप्रधान देश भएपनि अनुसन्धान क्षेत्रमा नेपाल सरकारको लगानी न्यून रहेकोले बजेट बढाउन आग्रह गरे । उनले ७२ जना कर्मचारीको दरबन्दी रहेको परवानीपुर निर्देशनालयमा अहिले २४ जना कर्मचारी मात्र रहेको र एकजना कर्मचारीले चार/पाँच जनाको काम गरेर सरकारको चालू आवको कार्यक्रम गरेको बताए । उनले कृषि अनुसन्धान कार्य कृषि क्षेत्रको मुटु भएकोले कृषिमा व्यापक अनुसन्धान गरेका देशहरूले विकासमा फड्को मारेको बताए ।
निर्देशनालयका वैज्ञानिक अजित झाको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा कृषि औजार अनुसन्धान कार्यालय, रानीघाटका प्रमुख सचिनकुमार मिश्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, बाराका प्रमुख डा हेमचन्द्र जयसवाल, साल्ट टे«डिङ कम्पनीका प्रमुख आमोद लामिछाने, बारा, पर्सा, सर्लाहीका कृषि मन्त्रालय मातहतका सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा निर्देशनालयकी वैज्ञानिक मिताली साहले स्वागत गरेकी थिइन् ।