प्रस, वीरगंज, २७ असार/

वीरगंज महानगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको छ। असार मसान्त बित्न लाग्दा तेस्रो र चौथो त्रैमासिक भत्ता वितरण भएको छैन।

यस वर्षदेखि चार चरणमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहे पनि महानगरमा दोस्रो चरणबाहेकको भत्ता वितरण भएको छैन। पहिलो चरणको असोज, दोस्रो चरणको पुस, तेस्रो चरणको चैत र चौथो चरणको असारमा भत्ता वितरण गर्नुपर्ने हो। तर स्थानीय चुनावको हवाला दिंदै तेस्रो चरणको सामाजिक सुरक्षा भत्ता वितरणमा ढिला भएको थियो। अहिले तेस्रो र चौथो दुवै भत्ता वितरण नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनेहरूलाई समस्या भएको छ।

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गहरूले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। मासिकरूपमा अहिले यो भत्ता सरकारले रु चार हजार गरेको छ।

यसैगरी, आगामी आवदेखि सामाजिक सुरक्षा भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पनि पाउनेछन्। यसअघि ७० वर्ष उमेर पुगेकाहरूले यो भत्ता पाउँदै आएका थिए। वीरगंज महानगरपालिकाको सामाजिक सुरक्षा महाशाखा प्रमुख माया थापाले भत्ताबापतको रकम बैंकमा भुक्तानीको लागि पठाइसकेको बताइन्। उनले चार/पाँच दिनअघि नै बैंकमा पठाइसकेको जानकारी गराइन्। यसपटक स्थानीय चुनाव र रकम निकासामा ढिला भएको कारण तोकिएको समयमा भत्ता पठाउन नसकिएको बताइन्।

बैंकले असार मसान्त भनेर वितरणमा ढिला गरेको छ। बैंकिङ सूत्र अनुसार सम्भवतः साउनदेखि यो भत्ता वितरण गरिनेछ। मसान्त भएकोले बैंक कर्मचारीहरू अन्य कार्यमा व्यस्त भएका र सामाजिक सुरक्षा भत्ताको पोस्टिङ हुन नसक्दा वितरणमा ढिला भएको बताइएको छ। वीरगंज महानगरको सामाजिक सुरक्षा भत्ता कृषि विकास, नेपाल बैंक र लक्ष्मी बैंकमार्फत वितरण हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here