प्रस, वीरगंज, २५ असार÷
सङ्घीय सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले आगामी तीन महीनाभित्रमा पर्सा जिल्लालाई विकास निर्माणसँग जोड्ने बताएका छन् ।
मन्त्री बनेपछि पहिलोपटक शनिवार गृहनगर वीरगंज आएका बेला उनको स्वागतमा जसपाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले मेरोे मन्त्रालय विकासे मन्त्रालय त होइन तर प्रधानमन्त्री, भौतिक पूर्वाधार विकास, शिक्षालगायतका मन्त्रीहरूसँग समन्वय गरेर तीन महीनाभित्रै पर्सा जिल्लालाई विकसित जिल्ला बनाउन काम शुरू हुने बताए । उनले वीरगंज आसपासका हरेक सडकलाई चिल्लो पार्ने विकास आयोजना विभिन्न सरोकारवाला निकायसँग मिलेर काम शुरू गर्ने उनले ठोकुवा गरे ।
जिल्लाका १४ वटै पालिकामा अधूरा सबै सडकको टेन्डर गराएर काम शुरू गराउने घोषणा पनि उनले गरे । यसका साथसाथै पर्सामा पर्यटन प्रवर्धन र विकासका लागि वीरगंजमा ललितपुरभन्दा पनि ठूलो चिडियाखाना आफ्नै कार्यकालमा निर्माण गर्ने बताए । यसका लागि जग्गा खोज्न वीरगंज महानगरका प्रमुख राजेशमान सिंहलाई उनले आग्रह पनि गरे ।
भिस्वा स्तुप, विन्ध्यवासिनी मन्दिर, भाथा मन्दिरलगायतका धार्मिकस्थललाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको चर्चा गर्दै ठोरी गाउँपालिकालाई मधेस सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेको भन्दै उनले त्यसका लागि सङ्घीय सरकारले पर्याप्त बजेट उपलब्ध गराउने उनले बताए ।