नितेश कर्ण, वीरगंज, २५ असार÷

मानव बेचबिखन नियन्त्रण एकाइ रक्सौलको टोलीले १५ वर्षका दुईजना नाबालिग नेपाली चेलीलाई मानव तस्करको हातमा पर्नबाट रोकेको छ ।

रक्सौलको रामजी चोकनजीकैबाट मानव तस्करको चङ्गुलमा परेका १५ वर्षका दुईजना नेपाली चेलीलाई नेपाल प्रहरीका प्रहरी निरीक्षक मनोजकुमार शर्मा र गैरसरकारी संस्थाले रोकेका थिए । उनीहरूलाई माइती नेपालको संरक्षणमा सुम्पिएको छ ।

रक्सौलमा एएचटियूको टोलीले दुईजना नेपाली चेलीलाई तस्करको हातबाट जोगाएको हो । उनीहरूलाई राति ११ः४५ बजे रक्सौलबाट आनन्द विहारसम्मको रेलबाट दिल्ली आउन भनिएको थियो ।

दुवै नाबालिग तीन दिनअघि घरपरिवारलाई खबर नगरी काठमाडौंबाट सुन र पैसा लिएर भागेका थिए ।

आमाबुबाले दुवैलाई धेरै खोजे पनि कतै फेला नपरेपछि उनीहरूले प्रहरीमा उजूरी दर्ता गराएका थिए ।

परिवारका सदस्यले सामाजिक सञ्जालमा प्रहरी निरीक्षक मनोजकुमार शर्माको नम्बर पाएर उनलाई छोरी फिर्ता ल्याउन मदत गर्न आग्रह गरेका थिए ।

उद्धार गरिएका दुई नेपाली चेलीले बोकेको फोन चेक गर्दा कसैले उनीहरूलाई दिल्ली आउन म्यासेज गर्दै पैसा र सुन ल्याउने कुरा गरेको पाइएको थियो । अनुसन्धान टोलीले सो व्यक्तिबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

दुवै नाबालिगलाई माइती नेपाल र नेपाल प्रहरीको जिम्मा लगाइएको र उनीहरूका अभिभावकलाई जानकारी गराइएको छ ।

माइती नेपालका प्रमुख गोमा पोडेलले एएचटियू टोलीले यस्तो कार्यमा सहयोग गर्दै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here