कोलम्बो, २५ असार÷सिन्ह्वा

श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ ।

आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।

स्थानीय समय अनुसार शुक्रवार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कफ्र्यू आदेश कायमै रहने प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कफ्र्यू आदेश जारी गरिएको हो ।

कफ्र्यू अन्तर्गतका नियमलाई कडाइका साथ पालना गराउन प्रहरीले प्रयास गरिरहेको अधिकारीले जनाएका छन् ।

त्यसका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । 

कफ्र्यू आदेश लागू भएका क्षेत्रमा हिंड्नुपरेमा प्रहरी तथा सरकारी अधिकारीको अनुमतिमा मात्रै हिंड्न पाइने व्यवस्था गरिएको छ । अत्यावश्यक परेमा हिंड्न पाइने पनि अधिकारीले जनाएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिवार विरोध प्रदर्शन हुन लागेको हो ।

श्रीलङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ ।

उनीहरूले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्यवृद्धि न्यूनीकरण गर्न नसकेकाले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाइ छ ।

दुवैजना आफ्नो जिम्मेवारीमा असफल भएकाले उनीहरूले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उनीहरूले राजीनामा दिएमा अर्को व्यक्तिले सङ्कटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

गिर्जाघरको तर्फबाट जारी गरिएको वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्री दुवैले नैतिकताका आधारमा आफैं राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ । श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महेन्द्रा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनुपरेको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here