प्रस, ठोरी, २४ असार÷

अघिल्लो वर्ष असार मसान्तसम्म योजनाको भुक्तानी माग गर्न आउने सेवाग्राहीका कारण भीड हुने ठोरी गाउँपालिका कार्यालय यस वर्ष सुनसान भएको छ ।

दैनिक सेवा लिन आउने सेवाग्राहीबाहेक भुक्तानी लिन आउने सेवाग्राहीको सङ्ख्या स्थानीय तह निर्वाचनपश्चात् ह्वात्तै घटेको हो ।

छिटफुटबाहेक स्थानीय तह निर्वाचनअगावै सबै योजनाको रकम भुक्तानी भइसकेकाले यो वर्ष असार मसान्तमा भुक्तानीको दबाब नभएको ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए । अघिल्ला वर्षहरूमा असार मसान्तको मध्यरातसम्म भुक्तानी हुने गरेको थियो । तर यस वर्ष आर्थिक वर्ष २०७७÷७८ को भुक्तानी हुन बाँकी रकम र आर्थिक वर्ष २०७८÷७९ मा विनियोजन भएका योजनाहरू सबैजसो सम्पन्न भएर पनि भुक्तानी भइसकेका छन् । केही साना टुक्रे योजनाको भुक्तानी लिन बाँकी सेवाग्राहीलाई पनि गापा अधिकृत श्रेष्ठले फोन गरेर नै भुक्तानी लिन बोलाउने गरेका छन् । सकेसम्म काम सम्पन्न भएका साना योजनाको रकमसमेत सेवाग्राहीले भुक्तानी पाऊन् भन्नका लागि फोन गरेर नै कार्यालय बोलाएर भुक्तानी दिने गरेको अधिकृत श्रेष्ठले जानकारी दिए । छिटफुटबाहेक सबै योजनाको फरफारक गरिएको उनले बताए ।

चालू आर्थिक वर्षमा ठोरी गापामा गापा र वडा स्तरीय गरी साना–ठूला करीब तीन सय योजना विनियोजन गरिएको योजना शाखाका अधिकृत अर्जुनकुमार जिसीले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको समेत करीब चार करोडभन्दा बढी भुक्तानी दिन बाँकी रकम चालू आर्थिक वर्षमा भुक्तानी दिइएको गापा कार्यालय घ्याङ्डाँडाले जनाएको छ । यस वर्ष देशभरका स्थानीय तहको सूत्र प्रणाली असार २५ गतेपछि बन्द हुने भएकाले सो मितिपछि कुनै पनि रकम भुक्तानी गर्न नसकिने गापा कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here