• डा शिवशङ्कर यादव

शरीर एक मजबूत तर नश्वर किल्ला हो, जसभित्र आत्मारूपी रानीको निवास छ । जसरी माहुरीको असङ्ख्य सङ्ख्याले आफ्नो रानी माहुरीको रक्षाको लागि सबै प्रयत्न गर्छन्, त्यस्तै शरीरका सारा अवयवले मेरो विचारमा केवल आत्माको मात्र रक्षा गर्छन् । हाम्रा ऋषिमुनिको भनाइ अनुसार आत्माको स्वरूप रौंंको एक हजार हिस्साको बराबर छ । पश्चिमा वैज्ञानिकहरूमा हाप्किन्सले पनि यसलाई मान्दैनन् र उनले पनि शरीर मात्र सबै कुरा हो भन्छन् । तर हामी हिन्दूहरूको मान्यता त्यस्तो छैन । हाम्रो अनुसार जब शरीररूपी यस किल्लाले जर्जर भएर आत्माको रक्षा गर्न सक्दैन, तब आत्माले यसलाई छाडेर अन्यत्र अर्को किल्लाभित्र आफ्नो निवास बनाउँछ । अब शरीरको यो किल्ला कसरी बनेको छ, यसमा विचार गरौं । हामी सबैले पुराना राजा, रजवाडाका किल्ला अवश्य हेरेका छौं । त्यसमा के हुन्छ भने एउटा मोटो बाहिरी पर्खाल हुन्छ । त्यसको बाहिर र भित्र पनि गहिरो खाडल बनेका हुन्छन् ताकि शत्रु खाडल पार गरेर पर्खालसम्म पुग्न नसकोस् । कथंकदाचित् शत्रु पर्खालसम्म पुग्यो र पर्खालको ढोकाबाट भित्र पस्यो भने भित्र पनि खाडल बनेको हुन्छ । त्यो खाडल पार गरे पनि अर्को खाडल बनेको हुन्छ । यस्तै, तहगतरूपमा खाडल शरीरभित्र पनि बनेका हुन्छन् । छाला शरीरको किल्ला हो, जसको बाहिर कुनै खाडल हुँुदैन । शत्रु अथवा रोगाणुहरू छालाको अभेद्य किल्लालाई भेद्न त सक्दैनन् तर मुख, नाकरूपी ढोकाबाट सुटुक्क भित्र पस्छन् । तर लगत्तै उनीहरूलाई तहगत खाडलहरू छिछोल्नुपर्छ । पहिलो खाडल हो रगत र प्लाज्मा, जसमा प्रवेश गरेपछि शत्रुमाथि अनेक रक्षकहरूको आक्रमण हुन्छ, जसबाट शत्रु बच्न सक्दैन । तर केही मोटा र ठूला शत्रुलाई रगतले मार्न नसकेपछि लिम्फरूपी अर्को खाडलमा आइपुग्छन् । त्यहाँ लिम्फैटिक सेल्स वा सैनिकहरूले च्वाट शत्रुहरूलाई समात्छन् र मारिदिन्छन् । अतः अब हामीले यो जान्नुप¥यो किः

के हो लिम्फ ?

यसलाई सम्झनको लागि केही कुरा सम्झनुस् । गोदाममा कैयौं पङ्क्तिमा सैकडौं भरिएका बोरा थाक लगाएर राखिएका हुन्छन् । त्यहाँ के हेर्नुहुन्छ ? सबै पङ्क्तिका बोरा टाँसिएका हुँदैनन् । टाँसिने कुनै आधार पनि छैन । बीचमा यहाँदेखि त्यहाँसम्म एक खाली ठाउँ बन्छ । ठीक यस्तै शरीरमा हुन्छ । करीब ३७२ ००००००००००० तीन पद्म बहत्तरी नील सेल र टिस्सुहरूको थाक लागेर शरीर बनेको हुन्छ र उनीहरूका बीचमा त्यस्तै खाली ठाउँ हुन्छ, जसरी गोदामका बोराहरूको बीचमा हुन्छ । त्यस खाली ठाउँलाई इन्टरस्टिशियल स्पेस भनिन्छ । अब कल्पना गर्नुस् कि दुर्ईटा खेतको बीचमा एउटा कुलो छ । त्यही कुलो इन्टरस्टिशियल स्पेस हो । अब खेतमा पानी पटाउनुस् । कुनै भूलबाट लिक भएर केही पानी त्यस कुलोमा जान्छ । त्यही पानी लिम्फ हो । शरीरमा ठीक यही हुन्छ । जब कैपिलरीले सेलहरूमा रगत पटाउन थाल्छ, तब केही रगत लिक भएर इन्टरस्टिशियल स्पेसमा जम्मा हुन्छ । त्यही हो लिम्फ । यो वास्तवमा लिक भएको होइन, बरु कैपिलरीले जानीजानी छोड्दै जान्छ । किनभने रगतले त्यसमा मौजुद शत्रुहरूलाई परास्त नगरेको हुन सक्छ । त्यो परास्त अब यहाँ गरिन्छ । कुलोमा माछा आए मानिसले के गर्छ ? त्यसलाई मारेर खान्छ । त्यस्तै रगतले खान नसकेका शत्रुहरूलाई यहाँ खाइन्छ । खेतको कुलोमा जुन पानी जम्मा भएको छ, त्यसको उद्देश्य के ? के त्यहीं जमेर बस्ने ? त्यसको उद्देश्य त यो हुनुपर्छ कि जुन नहरबाट पानी आइरहेको थियो, त्यसैमा मिसाइदिने ताकि अरू खेत पनि पटाउन काम लागोस् । ठीक यही काम गर्छ लिम्फ नेटवर्कले । जम्मा भएको लिम्फमा साना–साना नलीहरूको एउटा जाल बन्छ, जसले लिम्फलाई आफूतिर तान्छ अथवा सोस्छ । यसरी सोसेको लिम्फलार्ई अझ ठूलो लिम्फनलीमा पठाइन्छ । यसरी शिरा जस्तै अझ ठूलोमा पठाउँदै अन्त्यमा शिराको ठूलो शाखामा पठाएपछि लिम्फको काम सकिन्छ । यसै जाललाई लिम्फैटिक्स नेटवर्क वा लिम्फैटिक सञ्चार भनिन्छ । यसरी लिम्फैटिक सिस्टम अरू केही होइन, बरु रगतलाई दोहोरो शुद्धीकरण गर्ने प्रक्रिया हो । केही मोटा र ठूला ब्याक्टेरिया वा रोगाणु वा टक्सिन, जसलाई श्वेत रक्तकणले खान सक्दैन, तब त्यो लिम्फको जिम्मामा आइपुग्छ । लिम्फले त्यो काम फत्ते गरेपछि फेरि त्यो जहाँको थियो, त्यहीं पठाइदिन्छ । लिम्फेटिकको बनावट एउटा झुन्डिरहेको झालर जस्तो हुन्छ, जसको बीचबीचमा गाँठाहरू बनेका हुन्छन् । यी गाँठालाई लिम्फनोड भनिन्छ । जब लिम्प लिम्फनोडमा पुग्छ, तब त्यहाँ उपस्थित सैनिक सेलहरूले रगतले खान नसकेका शत्रुहरूलाई खाइदिन्छन् । मतलब खाने काम लिम्फनलीमा होइन लिम्फनोडमा हुन्छ । यसरी लिम्फ माथि बढ्दै जान्छ र अन्त्यमा दायाँपट्टिको लिम्फ राइट सबक्लेवियन नामक भेन अथवा शिरामा पु¥याइन्छ, जो हाम्रो कलर बोनको तल अवस्थित हुन्छ । बायाँपट्टिको शरीरको लिम्फ लिम्फ सिस्टमको सबैभन्दा ठूलो शाखा थोरैसिक डक्टमा पु¥याइन्छ । त्यसपछि थोरैसिक डक्टले सम्पूर्ण लिम्फलाई इन्टरनल जुगलर नामक भेनमा पु¥याइदिन्छ, जुन गर्धनमा हुन्छ । भेन वा शिराको त्यो रगतको फेरि आक्सिजिनेशनमा रिसाइक्लिङ हुन्छ । शरीरमा लिम्फनोडको सङ्ख्या ६०० हुन्छ, जसमा २०० केवल घाँटीमा पाइन्छ, जसलाई सरभाइकल लिम्फनोड भनिन्छ । यसको अलावा काँखीमा जसलाई एक्जिलरी र तिघ्रा र पेटको जक्सनमा जसलाई इन्गुइनल नोड जुन आन्द्रा, छाती र जननेन्द्रियमा हुन्छन् । सबैभन्दा ठूलो लिम्फनोड फियो र अर्को ठूलो टन्सिल हो । हामीले लिम्फनोड बढेपछि मात्र महसूस गर्छौं । जब खुट्टा वा जननेन्द्रियमा कुनै घाउ खटिरा हुन्छ, तब तिघ्राको माथिल्लो हिस्साको नोड बढ्छ र दुख्छ । हामीले त्यो र घाँटीमा बढेको नोडलाई सजिलै छाम्न सक्छौं । ब्याक्टेरियालाई खाँदा–खाँदा नोडको आकार बढेर जान्छ, जुन दुर्ई हप्तापछि आफैं वा खटिराको उपचार गरेपछि कम भएर जान्छ । भोजपुरीमा यसलाई ‘कौडी छुवा गइल’ भनिन्छ । नोडको आकार कौडी जस्तै अन्डाकार वा ओभल नै हुन्छ । दिनहुँ १२० मिलिलिटर लिम्फ भेनमा जाने गर्छ ।

यति भनेपछि बाँकी त केवल एकेडेमिक वर्णन नै बाँच्छ, जुन सर्वसाधारणको लागि केही मतलब राख्दैन । ल्याटिनमा लिम्फको मतलब हुन्छ, पानी तर कस्तो पानी । नेपालीमा यसलाई चौलानी भन्न सकिन्छ । आन्द्राको लिम्फलाई काइल भनिन्छ, जुन फैटको मात्रा अत्यधिक भएकोले सेतो हुन्छ । बढी भाग लिम्फमा यसैको भएको कारण लिम्फ चौलानी पानी जस्तो सेतो हुन्छ । लिम्फको खोज दुईजना डच वैज्ञानिक ओलियस रूडवैक र थोमस वार्थोलिनले गरेका थिए । शरीरका सबै इन्टरस्टिशियल स्पेसको लिम्फ मिलाएर १२ लिटर हुन्छ । रेनिन नामक वैज्ञानिकले पत्ता लगाए कि कैपिलरीले दिनहँु आठ लिटर द्रव छोड्छ, जुन नोडहरूमा शोषित हुँदै अन्त्यमा चार लिटर रहन्छ । यसको बहने वेग रगतभन्दा धेरै कम हुन्छ । १२० मिली प्रतिघण्टाको दरले लिम्फ रगतमा जान्छ, जसमध्ये १०० मिली बायाँ भागको थोरैसिक डक्टबाट घाँटीमा उपस्थित इन्टरनल जुग्लर नामक भेन अथवा शिरामा र २० मिली दाहिनेपट्टिबाट कलर बोनको तलको सबक्लेवियन नामक भेनमा फिर्ता जान्छ ।

लिम्फको बनावटमा ९६ प्रतिशत पानी र चार प्रतिशत ठोस हुन्छ । ठोसमा उही नाम गनाउनुभन्दा बढी के छ र ? ठोसमा आर्गेनिकमा प्रोटिन २ देखि ६ प्रतिशत, अल्युविमिन, ग्लोवुलिन, फिव्रिनोजिन, प्रोथ्रोम्विन, एन्टीबडिज र इन्जाइम, लिपिड ५ देखि १५ प्रतिशत हुन्छ, जसमा काइलोमाइक्रोन र लाइपोप्रोटिन हुन्छ । त्यस्तै कार्बोहाइड्रेटमा  ग्लुकोज १२० ग्राम हुन्छ । अमिनो एसिडमा प्लाज्मामा रहेका सबै ननप्रोटिन नाइट्रोजन्स पदार्थ युरिया, क्रियटिनिन । यसको अलावा इनआर्गेनिकमा जुन प्लाज्माभन्दा कम कन्सन्ट्रेशनमा हुन्छ । सोडियम, क्यालिशियम, पोटाशियम तथा जुन प्लाज्माभन्दा वढी कन्सन्ट्रेशनमा हुन्छ । क्लोराइड र वाइकार्बोनेट हुन्छन् । यसको अलावा सेलहरू पनि हुन्छन्, जसमा  लिम्पोसाइट १००० देखि २००० प्रतिक्युबिक मिलिमिटर तथा अरू मोनोसाइट, मैक्रोफेजेज र प्लाज्मा सेलहरू हुन्छन् ।

अतः लिम्फको वृहत् काम टिस्सु स्पेसको प्रोटिनलाई रगतमा पु¥याउने, शरीरको द्रवलाई रिडिस्ट्रिब्युशनमा मदत गर्ने, टिस्सुबाट ब्याक्टेरिया, टक्सिन र अर्को बाहिरी तŒवलाई हटाइदिने, इन्टेस्टाइनल फैटको अवशोषण गर्ने, लिम्फोसाइटको उपस्थितिले प्रतिरोधक क्षमता बढाउनमा मदत गर्ने आदि हुन् ।

यिनै हुन् लिम्फको वर्णन जसको गतिशीलता कति जरुरी छ भन्ने कुरा यसैले थाहा हुन्छ कि यदि यसको प्रवाह बन्द गरियो भने मान्छे बैलुन सरी फुलेर २४ देखि ४८ घण्टामा मर्छ । मस्तिष्कमा लिम्फैटिक नेटवर्क पाइँदैन, तर ताजा अनुसन्धानहरूले त्यसमा पनि सूक्ष्मरूपले हुन्छ भने पत्ता लागेको कुरा प्रकाशमा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here