• विनोद गुप्ता

नेपाल राष्ट्र बैंकका गर्भनरले केही दिन अगाडि विदेशी मुद्राको सञ्चितिबारे चिन्ता व्यक्त गर्दै यही स्थिति रहेमा नेपाल श्रीलङ्काको बाटो लाग्न सक्ने सम्भावना व्यक्त गरेका थिए । यसबाट जोगिन उनले उत्पादन बढाउँदै निर्यात बढाउने र आयात प्रतिस्थापन गर्दै डलरको आम्दानी र खर्च दुवै बढाउनुपर्ने कुरा बताएका थिए । यो बिलकुलै ठीक तर शतप्रतिशत सैद्धान्तिक कुरा हो ।

सबभन्दा पहिले त निर्यातकै कुरा गर्दा परिणामात्मकरूपमा नेपालबाट भारतमा निर्यात गर्न सकिने वस्तु नै छैन र जुन छ त्यसको परिमाण एकदम न्यून छ । उदाहरणको लागि पश्मिना, गलैंचा, मूर्ति, अदुवा, चिया, कफी, अलैंची आदिको कुल निर्यात नै गत फागुनसम्मको तथ्याङ्क अनुसार जम्मा १ खर्ब ४७ अर्ब थियो जसमा सोयाबिन र पाम आयल मात्रै ७६ अर्ब ७३ करोडको देखिन्छ । रातारात यो व्यापार घाटा सन्तुलित गर्न निर्यातलाई कसरी २–४ खर्बमा पु¥याउन सकिन्छ बुझ्न कठिन छ । ठूलो परिमाणमा नेपालले निर्यात गर्न सक्ने जलविद्युत् हो जसको राम्रो शुरूआत भएको छ । नेपाल विद्युत् प्राधिकरणले महीनामा करीब १ अर्ब ७६ करोडको बिजुली निर्यात गरेको छ तर यो पनि मौसमी मात्र हो । वर्षा सिद्धिनासाथ फेरि आयात गर्नुपर्ने हुन्छ । नेपालले आफ्नो स्रोतमा बनाउन लागेको जलाशययुक्त १२ सय मेगावाट र पञ्चेश्वर बनाउन सकियो भने मात्रै दीर्घकालीनरूपमा व्यापार घाटा केही कम हुने अपेक्ष्Fा गर्न सकिन्छ तर हाम्रो राष्ट्रिय गौरवका आयोजनाहरूको स्थिति हेर्दा यसको लागि कम्तीमा १० वर्ष त कुर्नैपर्छ । अरुणबाट भने उत्पादन शुरू भएमा वर्तमान अवस्थामा मौसमी सुधार हुनेछ । त्यसैले विदेशी मुद्राको आयको स्रोत रेमिट्यान्स र पर्यटनबाहेक अरू देखिंदैन । रेमिट्यान्सबाट राम्रै सञ्चिति भइरहेको भए पनि त्यसलाई थप आकर्षक बनाउने नीति स्वयं गर्भनर महोदयले नै सुझाउनुपर्छ जस्तो लाग्छ ।

त्यसैगरी पर्यटन क्षेत्रमा समेत क्रमिक सुधार भइरहेको देखिएको छ । फागुन महीनासम्म नेपालको पेट्रोलियम पदार्थको आयात नै कुल निर्यातभन्दा बढी हुन गई १ खर्ब ७८ अर्ब ३२ करोड पुगेको छ । यो आयात घटाउन खोई त सरकारले बिजुली सस्तो गर्ने वा यसको प्रयोग बढाउने कार्यहरू गर्न सकेको ? त्यसैले नेपालमा सावधानीको अवस्था अवश्य छ जसलाई क्रमशः नियन्त्रण गर्न तत्पर हुनुपर्छ ।

तर यसभन्दा ठूलो जोखिम भर्खरै केही दिन अगाडि भारतको रिजर्भ बैंक अफ इन्डियाले एउटा लेखमार्फत सार्वजनिक गरेको सूचना जोखिमपूर्ण छ । आरबिआईका अनुसार भारतमा पोर्टफोलियो इन्भेस्टमेन्ट अर्थात् शेयर बजारमा अमेरिकाको मात्रै करीब २ सय बिलियन डलरको लगानी अनुमान छ । जसमध्ये करीब सय बिलियन डलर अर्थात् भारु ७.८ लाख करोड तत्कालै बाहिरिने अवस्था सिर्जना भएको छ । यो लगानी भारतको जिडिपीको ३.२ प्रतिशत हो र यसबाट सय बिलियन डलर बाहिरिंदा भारतको जिडिपी सात प्रतिशतले घट्न सक्ने अनुमानित प्रक्षेपण छ । यति ठूलो रकम विदेशिनुको पछाडि अमेरिकामा बढ्दै गरेको महँगी नियन्त्रण गर्ने बैंकहरूले बढाएको ब्याजदरलाई मानिंदैछ । यसबारे सजग रहनुपर्ने भनाइ राख्दै आरबिआईले सम्भावित अवस्थाको लागि ‘ब्ल्याक स्वान’ शब्द प्रयोग गरेको छ जसको अर्थ देशले कस्तो अप्रत्याशित स्थितिको सामना गर्नुपर्नेछ, त्यो भन्न नसकिने हो । हामी आफ्नै पिरलोको सामना गर्न अक्षम भइरहेको बेला कुल व्यापारको ७०–८० प्रतिशत भारतमैं निर्भर रहनुपर्ने अवस्था र भारत नै ब्ल्याक स्वानको चक्रव्यूहमा फसेको अवस्थामा हाम्रो अवस्था के होला भन्न सहज छैन । त्यसैले अब नेपाल श्रीलङ्का हुँदैन भनेर फुर्कनुभन्दा आफ्नो आन्तरिक र बाह्य दुवै अवस्थाको पुनर्मूल्याङ्कन गर्नु आवश्यक हुन जान्छ किनभने पर्यटनतर्फ नेपालमा अझै पनि भारतीय पर्यटकहरूकै बढी सहभागिता छ र भारतमा त्यस्तो अवस्था आइपरे पर्यटन क्षेत्रको आम्दानी बढ्ने नभई घट्ने छ र रेमिट्यान्स एक्लैले विदेशी मुद्राको सञ्चितिमा खास योगदान पु¥याउन सक्नेछैन र भारतमा बढ्ने महँगीको मारले हामीलाई थप दुःख दिने निश्चित छ ।

नेपाल र भारत दुवैलाई यस प्रकारको विघ्नबाधा कसरी लाग्न लागेको हो भनेर घोत्लिंदा मलाई भारतका बापू भनिने महात्मा गाँधीको सम्झना आयो । स्वतन्त्रता नै जीवनको सबैभन्दा मूल्यवान् सम्पदा भएको मान्ने उनले अव्यवस्था (चाओस) जिम्मेवारीबाट भाग्न गरिने उपक्रम भएको भन्दै जिम्मेवारीलाई तीन खुट्टे स्टुलसँग तुलना गर्दै पहिलो खुट्टा स्वयम्प्रतिको जिम्मेवारी बोध, दोस्रो– अरूको लागि आत्मसम्मान र तेस्रो– विश्वका सबै प्राणीको लागि उदारताको भाव  भनेका छन् । यी तीनवटा गुणले नेतृत्व क्षमताको विकास हुने जसबाट अगाडि बढ्ने चाहना (मोटिभेशन) उत्पन्न भई आजको अन्तरनिर्भर विश्वमा समन्वय स्थापित भई शान्ति र स्वतन्त्रता हासिल गर्न सकिन्छ । यसरी जिम्मेवारी बोध नभएको अवस्थामा नेतृत्व लिनेहरूले गर्न सक्ने सातवटा सामाजिक पापकर्म हुने भई शान्ति र स्वतन्त्रताको मार्ग सुनिश्चित नहुने भनाइ छ ।

१. सिद्धान्तविनाको राजनीति

२. परिश्रमविनाको धन

३. नैतिकताविनाको व्यापार

४. चेतनाविनाको खुशी

५. चरित्रविनाको शिक्ष्Fा

६. मानवताविनाको विज्ञान र

७. त्यागविनाको पूजा

महात्मा गाँधीको यो सन्देश र त्यसपछि नेपाल र भारतको अवस्था सम्झेपछि हामी किन आजको अवस्थामा पुगेका छौं बुझ्न कठिन भएन । मन शान्त भयो किनभने हामी आज उल्लिखित सातवटै सामाजिक पापमा लिप्त छौं त्यसैले दुःखमा छौं । यसबाट बाहिर निस्कन एक नम्बरबाट शुरूआत भयो भने छिटो उम्किन सकिएला । होइन भने भगवान् पशुपतिनाथले गरे मात्र कल्याण हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here