- सुदर्शनराज पाण्डे
मानिसको सारतŒव सामाजिक चरित्रको छ । मानिसको प्रादुर्भावको लागि प्रकृतिले निश्चित जैविक पदार्थ अवश्य दिएको हुन्छ । मानिसको जीवनमा श्रम र उत्पादन सम्बन्धी क्रियाकापको महŒवपूर्ण भूमिका हुन्छ । श्रमले नै मानिसको निर्माण गरेको हो । जनसमुदाय नै वर्तमान युगको निर्णायक राजनीतिक शक्ति र परिवर्तनको संवाहक शक्ति हो । समाजवादी समाज वा प्रजातान्त्रिक समाज निर्माणमा जनताको व्यापक सिर्जनात्मक श्रमको कारण विकास र प्रगति भएको हुन्छ । समाज र व्यक्तित्व अलग–अलग विषय हुन् । काम गर्न, विचार गर्न, बोल्न अनि श्रमका औजारहरू तयार पार्न र अन्य मानिसहरूसित सामाजिक सम्बन्धमा बाँधिनसमेत समर्थ भएकोले मानिस, मानिस बनेको छ । श्रमका औजारहरूद्वारा नै मानिसले बाह्य जगत् र प्रकृतिमा परिवर्तन ल्याउँछ । व्यक्तिगत विकासको क्रममा जन्मेदेखि नमरुन्जेलसम्म व्यक्तिको मानवीकरण तथा सामाजिकीकरणको प्रक्रिया चालू रहन्छ अर्थात् उसले मानव गुणहरू ग्रहण गर्दै जान्छ । बाह्य सामाजिकजगत् मानिसहरूको असङ्ख्य पुस्ताले आफ्नो श्रम तथा सङ्घर्षद्वारा निर्माण गरेको छ । मानिसको जीवन नै सङ्घर्षमय छ । जसले जीवनबाट हरेश खान्छ, उसको जीवन निरर्थक हुन्छ । श्रम र सङ्घर्षको परिणाम लाभदायक हुन्छ । स्त्री र पुरुष दुई लिङ्गबीचको आपसी मेलले मात्र विकास र परिवर्तन सम्भव छ ।
महान् राजनीतिक दार्शनिक माक्र्स र एन्गेल्सले मानिसप्रतिको अमूर्त दृष्टिकोणलाई अस्वीकार गर्नुभयो । मानिस सदैव मूर्त हुन्छ, ऊ सदैव ऐतिहासिक दृष्टिले निश्चित सामाजिक व्यवस्था, वर्ग, राष्ट्र, श्रमिक समुदाय इत्यादिसित सम्बन्धित हुन्छ भन्ने कुरा उहाँहरूले प्रमाणित गर्नुभयो । व्यक्तित्व अर्थात् निश्चित मानिस श्रम, चिन्तन, भाषाको माध्यमद्वारा विचारको आदानप्रदान गर्ने क्षमता इत्यादि । सबै मानिसको निम्ति स्वाभाविक गुणहरूको साथसाथै (राष्ट्र, वर्ग, पार्टी, श्रमिक दल) जुन समुदायमा ऊ रहन्छ, त्यसका गुणहरूले पनि युक्त हुन्छ । यसबाहेक प्रत्येक मानिसको उसकै निम्ति मात्र स्वाभाविक आफ्नै व्यक्तिगत गुणहरू पनि हुन्छन् । यी गुणहरू र अन्य गुणहरूले व्यक्तित्वका रूपमा मनुष्यको चरित्र निरूपण गर्दछ । व्यक्तित्वशाली मानिस असाधारण हुन्छ । सबै मानिस सामान्य हुन्छन्, असाधारण र प्रतिभाशाली बन्न सक्दैनन् । मानिसहरूको भीडमा उत्कृष्ट योगदान दिन सक्ने मानिस निकै थोरै हुन्छन् । व्यक्तिगत गुणहरूले व्यक्तित्वको रूपमा मानिसलाई स्थापित गर्दछ । नेतृत्व तहमा पु¥याउँछ ।
सामाजिक सम्बन्धहरूको प्रादुर्भावद्वारा नै जीवनका बहुमुखी अभिव्यक्तिहरूबाट नै व्यक्तित्वका गुणहरू निरूपित हुन्छन् । मजदूर वर्ग र मालिक वर्ग, शोषित वर्ग र शोषक वर्ग, शासक वर्ग र शासित वर्ग समाजमा हुन्छन् । श्रमिक वर्गको सङ्ख्या ठूलो हुन्छ । उत्पीडित वर्गको सङ्ख्या ठूलो छ । मजदूर वर्गले आफ्नो वर्गसँग सम्बन्धित व्यक्तित्वलाई चेतना, सङ्गठनात्मकता, अनुशासनपरायणता, सैद्धान्तिक इमानदारिता, पूँजीवाद, सामन्तवाद र दलाल पूँजीवाद र बुर्जुवा विचार र व्यवहारप्रति द्वैषको भावना, क्रान्तिकारिता जस्ता गुणहरूले विभूषित गर्दछ । समाजका सत्तारूढ आर्थिक एवं सामाजिक सम्बन्धहरू त्यसका निम्ति स्वाभाविक बौद्धिक संस्कृति, खास गरीकन सत्तारूढ विचारहरूले व्यक्तित्वको बौद्धिक जीवनका अभिव्यक्तिहरू, उसको विचार, भावना, चरित्र र रुचि तथा लक्ष्यहरू निरूपित गर्दछन् ।
व्यक्तित्व सामाजिक सम्बन्धहरूको समुच्चय वा पुन्ज हो । निश्चित मनुष्य वा व्यक्तित्व भनेको त्यसै सामाजिक परिवेश अर्थात् समाजको उपज हो । अभिव्यक्तिको स्तर समान हुँदैन । कुनै पनि समाज एकै किसिमको हुँदैन । एउटै समाजमा विभिन्न विचारका, विभिन्न जातका, विभिन्न श्रम र सीपका मानिसहरू रहेका हुन्छन् । समाजमा पुराना सामाजिक सम्बन्धहरूको अवशेषहरू वर्तमानका आधारहरू र भविष्यका भ्रूणहरू मौजूद रहन्छन् । समाजवादी समाजमा व्यक्तिको रचनात्मक सक्रियता निकै बढी हुन्छ । वर्तमान विकृत पूँजीवाद र दलाल पूँजीवादले मानिसलाई उपयोग हुने वस्तु बनाएको छ । मानिसहरू उपयोगी बन्न छाड्दै छन् । उपभोक्तावादी संस्कृतिले समाजवाद र मानवतावादलाई चुनौती दिइरहेको छ । ‘ऋणं कृत्वा घृतम् पिवेत’को चिन्तन बनाएको छ । भौतिकवादी विकास सँगसँगै विनाश पनि बढ्दै गइरहेको छ । संरक्षण र सदुपयोगको संस्कृति सङ्कटमा पर्दैछ । भौतिकवाद र अध्यात्मवाद परस्पर विरोधी बनेका छन् । पूँजीवाद र समाजवादबीच तीव्र अन्तरविरोध र द्वन्द्व चलिरहेको छ । द्वन्द्वले मानिसको विनाश गर्दै आएको छ । विश्वमा जनसङ्ख्याको चाप बढिरहेको छ ।
प्राकृतिक प्रकोप र विकृति अनियन्त्रित छ । महान् व्यक्तित्वहरूको प्रादुर्भावमा पनि खडेरी लागेको छ । विश्व शान्ति र मानव समाज विश्व कल्याण र मानव चिन्तनशीलबीच तालमेल छैन । प्राणीहरूमध्ये उत्कृष्ट मानिएको मानिस नरपशु बन्दैछ । विवेकशून्य र सुविधाभोगी मनुष्यहरूबाट सिर्जना हुँदैन । मानवयन्त्रको चरम विकास र साइबरको विकासले मानव श्रम सङ्कटमा पर्दैछ । श्रम र उत्पादनबीच तालमेल भएन भने निश्चितरूपमा विश्व शान्ति खलबलिन्छ । प्राकृतिक असन्तुलन र प्रकोपले विश्वको कल्याणमा जटिलता देखिएको छ । विश्वको शान्ति र कल्याण गर्ने आवश्यक क्रान्तिको नेतृत्व गर्ने महान् व्यक्तित्वहरू एक्कासि देखा पर्दैनन् । ऐतिहासिक आवश्यकता अनुसार अर्थात् यसको निमित्त आवश्यक वस्तुगत अवस्था परिपक्व भएपछि मात्र महान् व्यक्तित्वहरूको प्रादुर्भाव हुन्छ । पृथ्वीको निर्माण उथलपुथल प्रक्रियाबाट हुन्छ । जहाँ ध्वंश, त्यहाँ निर्माण हुन्छ । भनिन्छ, बिग्रिएको, भत्किएको, अधूरो र अपूरो रहेको काम पूरा गर्ने मानवसमाजले नै हो ।