प्रस, वीरगंज, १९ असार/

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले डस्टी कार्गोको भण्डारण तथा आयात सम्बन्धी समस्या समाधान गर्ने बताएका छन् ।

काठमाडौं पुगेका वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालको नेतृत्वको टोलीसँग भेटवार्ताको क्रममा मन्त्री बडुले नेपाल तथा भारतका सम्बन्धीत निकायहरूसँगको सहकार्यमा सो समस्या समाधान गर्ने आश्वासन दिए ।

मन्त्री बडुले एकीकृत जाँचचौकी तथा सुख्खा बन्दरगाहलाई अझ व्यवस्थित ढङ्गले सञ्चालन गर्न पहल गर्ने र भंसारमा प्रयोग हुने अनलाई कम्प्यूटर प्रणालीको सर्भरलाई अपग्रेड गरी समस्या समाधानको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले ल्याण्ड कस्टम रक्सौलको २८ जुन २०२२ को परिपत्रले नेपाली आयातकर्ताहरू मर्कामा परेको बताए । उनले नेपालका लागि आयात भई रक्सौल रेल्वे साइडिङमा थुप्रिने धूलोजन्य औद्योगिक कच्चा पदार्थहरू ल्याण्ड कस्टम रक्सौल–मैत्री पुल भई आयात हुँदै आएकोमा ल्याण्ड कस्टम रक्सौलले १ जुलाइ २०२२ देखि सो रूट परिवर्तन गरी रक्सौल मुख्य बजार–लक्ष्मीपुर– एकीकृत जाँचचौकी कायम गरेपछि मर्कामा परेको बताए ।

उनले रक्सौल– मैत्री पुलकै बाटोलाई स्तरोन्नति गरी सधैंको लागि सोही बाटो प्रयोग गर्न पाउनुपर्ने माग गरे । भेटघाटमा श्रीसिया सुख्खा बन्दरगाहको भौतिक पूर्वाधार तथा संरचनागत विकासलाई प्राथमिकतामा राखिनुपर्ने, भारत सरकारले गहुँको निर्यातमा लगाएको रोक हटाउनुपर्ने, डस्टी कार्गोको व्यवस्थापन एवं भण्डारणको लागि एउटा छुट्टै पोर्ट निर्माण गर्नुपर्ने, तत्कालका लागि सुख्खा बन्दरगाह र एकीकृत जाँचचौकीको बीचमा रहेको नेपाल सरकारको स्वामित्वमा रहेको ६२ बिघा जमिनलाई डस्टी कार्गोको भण्डारणका लागि प्रयोग गर्नुपर्ने, एकीकृत जाँचचौकीलाई अझ व्यवस्थित तुल्याउनुपर्ने, भारत हुँदै विदेश यात्राको लागि चाहिने “नो अब्जेक्शन पत्र” परराष्ट्र मन्त्रालयले जारी गर्दै आएकोमा सो अधिकार प्रत्यायोजन गरी कुनै स्थानीय कार्यालयलाई दिनुपर्ने, भंसारमा प्रयोग हुने अनलाईन कम्प्यूटर प्रणालीको सर्भरमा सधैं समस्या आउने गरेकोले सोलाई सुधार गर्नुपर्ने लगायतको सुझाव दिए ।

मन्त्री बडुले सङ्घको समस्याप्रति गम्भीर भएको बताए । भेटघाट कार्यक्रममा सङ्घका उपाध्यक्ष माधव राजपाललगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here