जीतलाल श्रेष्ठ, निजगढ, १८ असार/

नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका शीर्ष नेताहरूले असार १५ गते सर्वोच्च अदालतको पूर्ण पाठमा दिइएको राय अनुसार कमभन्दा कम रूख मासेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताएका छन् ।

निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नेपाली सेनाको हेलिकप्टरमार्फत निरीक्षणपछि फास्ट ट्र्याक निर्माणका लागि स्थापना गरिएको नेपाली सेनाको क्याम्प जीरो किलोमिटरमा शनिवार आयोजित कार्यक्रममा प्रम देउवाले शुरूमा दुईवटा रनवे तयार गरी अन्तर्राष्ट्रिय उडान भर्ने गरी सुविधासम्पन्न विमानस्थल निर्माण गर्ने बताए । उनले आजको आधुनिक युगमा हवाईमार्गबाट नै विश्वसँग निरन्तर सम्बन्धबाट नै व्यापार, पर्यटन, रोजगार बढ्ने बताए । उनले नेपाललाई अन्तर्राष्ट्रिय पहुँचमा लैजान निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाहेक अर्को विकल्प नभएकोले सुविधासम्पन्न विमानस्थलका लागि आवश्यक निर्माण कार्य अघि बढाउँदै छिट्टै काम शुरू हुने विश्वास दिलाए ।

सर्वोच्च अदालतको रायलाई पालना गर्दै आफ्नो सरकार र गठबन्धन दलहरू एकमत भएकाले नै आफू निरीक्षणमा आएको उनले प्रस्ट्याए । रूखबिरुवा, वन्यजन्तु, पर्यावरणलाई जोगाउँदै मास्नै परे कमभन्दा कम क्षति र क्षतिको शोधभर्ना हुने गरी मात्र काम अघि बढाउने प्रम देउवाले प्रतिबद्धता जाहेर गरे ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले मुलुकको विकास, आर्थिक समृद्धि, रोजगार सिर्जना हुने उनको भनाइ थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल र नेपालीहरूका लागि ‘ड्रिम प्रोजेक्ट’ भएको र यसको विकल्प पनि नभएको बताए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै राजधानी काठमाडौं जोड्ने निर्माणाधीन द्रुतमार्गसँग पनि यसको अन्तरसम्बन्ध रहेको बताए ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको पूर्ण पाठको रायलाई मनन गर्र्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका आफूहरू अढाई दशकदेखि लागिपरेको बताए ।

नेता नेपालले आवश्यकताभन्दा बढी नाजायज माग राखेर विरोध गर्ने, चलखेल गर्ने काम बन्द गर्न सबैसँग आग्रह गरे । नचाहिंदो मागले निर्माण कार्य समस्यामा पर्ने र राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना अयन्त्र जान सक्ने चेतावनी दिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छिमेकी मुलुक भारतमा ५० वटाभन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थल भएको तर यहाँ एउटा बनाउन पनि दशकौं लागिसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले विमानस्थल निर्माण गर्दा प्रभावित हुने बस्तीको उचित व्यवस्थापन गर्दै र रूख कम मासेर काम शुरू गर्नुपर्ने सुझाए । उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाली हवाई चापलाई अहिले त थेग्न गा¥हो भइरहेको अवस्थामा आगामी दिनमा त झनै ठूलो समस्यासँगै चुनौती आइलाग्ने भन्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अर्को विकल्प नभएको बताए ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले सर्वोच्च अदालतलाई सम्मान गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण राष्ट्रिय आवश्यकता भएकोले सबै मिलेर काम सम्पन्न गर्नुपर्नेे बताए ।

टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहाय यादव, खानेपानीमन्त्री उमाकान्त चौधरी, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here