ओमप्रकाश चौधरी, सेढवा, १७ असार/
पर्साको ग्रामीण भेगमा वर्षेबाली धानको रोपाइँ शुरू भएसँगै यस क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा निरन्तर विद्यार्थीको उपस्थिति घट्दै गएको छ । सामान्य अवस्थाभन्दा धान रोपाइँको समयमा विद्यार्थीको उपस्थिति पचास प्रतिशतसम्म कम हुने गरेको शिक्षकहरूले बताए । विद्यालय जाने समयमा पानी पर्नाले पनि विद्यार्थीहरूको उपस्थितिमा कमी आएको शिक्षकहरूले जनाएका छन् ।
यस सम्बन्धमा सखुवाप्रसौनी गाउँपालिका वडा नं १ स्थित नेरामावि, सिरही सथवलका प्रधानाध्यापक दीलिप बुढाथोकीका अनुसार सामान्य अवस्थाभन्दा अहिले करीब २० प्रतिशतले विद्यार्थीको उपस्थितिमा कमी आएको बताए । अहिले धान रोपाइँ शुरू भएकोले उपस्थितिमा खासै असर नपरे पनि रोपाइँ पूर्णरूपमा लागेपछि पचास प्रतिशत विद्यार्थी विद्यालय नआउने प्रअ बुढाथोकीले बताए ।
रोपाइँको समयमा उमेर अनुसार खेत तथा घरका काममा विद्यार्थीहरू व्यस्त हुने हुँदा विद्यालयमा उनीहरूको उपस्थिति कम हुने गरेको छ । अलि बढी उमेरका बालबालिका खेतमा बीउ उखेल्ने, कोदालो चलाउने, आली बाँध्ने, बीउ ओसार्ने, खाना तथा खानेपानी पु¥याउने काममा लाग्छन् भने साना उमेरका बालबालिकालाई घरको रेखदेख, ससाना बाबुनानीको हेरचाह, घरआँगन बढार्ने, भाँडाबर्तन माझ्ने, गाईभैंसी, बाख्रा चराउने काममा लगाउने गरिएको छ ।
जगरनाथपुर गाउँपालिका वडा नं १ का किसान किशुन महतो नुनियाले हामी किसानका लागि रोपाइँको बेला निकै व्यस्त रहनुपर्ने भएकाले हप्ता/१० दिनका लागि बाबुनानीहरूलाई विद्यालय नपठाउने गरेको बताए । अहिले रोपाइँको समयमा खेतको कामकाजमा एकदमै व्यस्त भएकाले घरका सामान्य कामका लागि बाबुनानीलाई लगाएको उनले बताए ।
यता सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले विद्यार्थीहरूको उपस्थिति विवरण दिन मानेनन् । दैनिकरूपमा सञ्चालन हुँदै आएको दिवाखाजाको रकम कट्टा हुने डरले विद्यार्थीहरूको विवरण नदिएको जनाइएको छ ।