प्रस, वीरगंज, १८ असार/

पकहामैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष विजय चौरसियासहित नौजना जनप्रतिनिधिलाई जिल्ला अदालत, पर्साले दोस्रोपटक दण्डित गरेको छ ।

जिल्ला अदालत, पर्साका न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासले असार १६ गते पूर्वअध्यक्ष चौरसियालगायत नौजनालाई जनही पाँच हजार क्षतिपूर्ति तथा १० हजार जरिवाना गरी १५ हजार रुपैयाँ दण्ड गरेको अधिवक्ता निजामुद्दीन राउत गद्दीले बताए । जिल्ला अदालत, पर्साले २०७६ वैशाख १ गते पकहामैनपुर गापाका अध्यक्ष चौरसियालगायत १५ जनालाई पहिलोचोटि जनही नौ सय रुपैयाँ दण्डित गरेपछि पीडित पक्षले पुनरावेदन गरेको थियो । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले रिट खारेज गरेपछि उनीहरू सर्वोच्च अदालतमा पुगेका थिए ।

तत्कालीन पकहामैनपुर गापाका अध्यक्ष चौरसियाले सोही गापा निवासी नन्दलालप्रसाल चौहानलगायतको निजी जग्गाको उचित मुआवजा नदिई सडक बनाउन खोजेपछि पीडित पक्षले रोक्दा उनीहरूलाई कुटपिट गरिएपछि पीडितहरू जिल्ला अदालत, पर्सामा पुगेका थिए ।

चौहान पक्ष अदालतमा पुगेपछि चौरसिया पक्षले चौहानलाई पुनः दोस्रोपटक कुटपिट गरेको थियो । सोही घटनामा अदालतले दोस्रोपटक जनही १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

यस विषयमा निवर्तमान गापाध्यक्ष विजय चौरसियाले जिल्ला अदालत, पर्साले गरेको निर्णय सच्याउन माग गरे । आफू निर्वाचित भएको बेला नियम अनुसार बाटो बनाएकोमा कसैलाई मर्का परेको भए गापाको कार्यालयमा नपुगी सीधा अदालत गएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here