प्रस, वीरगंज, १७ असार/
कालिकामाई गाउँपालिका कार्यालयमा नेकपा एमाले र नेपाली काङ्ग्रेसका नेता, जनप्रतिनिधिले शुक्रवार बिहान ध्यानाकर्षणपत्र बुझाएका छन् ।
नेपाली काङ्ग्रेस गापा सचिव रामानन्द ठाकुर, गापा अध्यक्षमा पराजित उम्मेदवार अजय पटेल, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष अनुप तिवारी, सचिव विजय साह गोढ, वडाध्यक्षद्वय सोनालाल चौरसिया, सञ्जय साहसमेतको टोलीले उपाध्यक्ष राजपति देवी र प्रमुख प्रशासकीय अधिकृत अमित गिरीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरूले गापालाई समानुपातिकरूपमा बजेट विनियोजन गर्न सुझाव दिए । उनीहरूले आन्तरिक आयस्रोत र बजेट पारदर्शी गरिनुपर्ने तथा यसअघि गापाले विनियोजन गरेको वडास्तरीय बजेट कायम रहनुपर्ने अडान दोहो¥याएका थिए ।
कालिकामाई गापामा वडास्तरमा एक करोड ३० लाख विनियोजित हुँदै आएको तर आगामी बजेटमा वडास्तरमा ३० लाख, उपाध्यक्षलाई ५० लाख र अध्यक्षले नौ करोड रकम खर्च गर्ने गरी बजेट ल्याउन लागेकोमा विरोध भएको थियो ।
वीरगंजको पूजन होटलमा कालिकामाई गापाका जनप्रतिनिधिहरू बसेको बेला गापा अध्यक्ष वशिष्ठ कलवारले यस्तो योजना प्रस्तुत गरेपछि नेका र एमाले पक्षधर जनप्रतिनिधिहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले पूर्ववत् बजेट वडास्तरमा विनियोजित गर्नुपर्ने अडान राखेका छन् ।
कालिकामाई गापामा नेकाका १३, एमालेका दुई र जसपाका १४ जना जनप्रतिनिधि छन् । गापा अध्यक्ष कुर्मी जसपाबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष राजपति देवी नेकाबाट निर्वाचित भएकी हुन् । बहुमत सदस्य नेकपा एमाले र नेकाको रहेको कारण असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेन । आज ध्यानाकर्षणपत्र बुझाउने क्रममा अध्यक्ष कलवार अनुपस्थित थिए । माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।