- राजेश मिश्र
उनले काठमाडौंमा १५ वर्षभन्दा बढी मोटरसाइकल रिपेयरिड्ढो काम गरें । झन्डै डेढ वर्षदेखि वीरगंज राधेमाईमा उनको वर्कशप सञ्चालनमा छ । तर उनी काठमाडौं छाडेर वीरगंज किन
आए ? वर्कशपको नाम ‘काठमाडौं रिटर्न मोटरसाइकल रिपेयरिङ वर्कशप’ राख्नुको कारण के हो ? भारत, बिहार हर्दिया पञ्चायत–९ गम्हरियाका महम्मद इन्तजार हुसेनसँग भएको संवादको सङ्क्षिप्त अंश प्रस्तुत छ–
महम्मद इन्तजार हुसेन
(मोटरसाइकल मिस्त्री)
गाउँका बालबालिकाहरूसँगै म पनि सधैं विद्यालय जान्थें । छुट्टी भएपछि घर फर्कन्थें, खाजा खान्थें र गम्हरिया नहर चोकमा दाइको मोटरसाइकल वर्कशपमा जान्थें । खेलखेलमा हावा भर्ने, ब्रेक मिलाउने, पन्चर टाँस्नेलगायत सामान्य प्राविधिक कुरा सिक्दै थिएँ ।
आठजनाको हाम्रो परिवार एक्लो बुवाको आम्दानीमा निर्भर थियो । बुवा वर्षौंदेखि काठमाडौंको एउटा गार्मेन्ट उद्योगमा सिलाइको काम गर्थे । पर्वको बेला बुवा घर आएका थिए । काठमाडौंमा मोटरसाइकल वर्कशप खोल्नेबारे बुवा र दाइबीच छलफल भयो । दाइ इम्तियाज हुसेन बुबासँगै काठमाडौं लागे । क्षेत्रपाटीको ढल्कोमा घर भाडामा लिएर ‘इम्तियाज मोटरसाइकल रिपेयरिङ वर्कशप’ सञ्चालन गरे ।
दाइ काठमाडौं गएपछि मलाई विद्यालय जाने र साथीहरूसँग खेल्नेबाहेक काम थिएन । पढाइभन्दा बढी साथीभाइहरूसँग समय बित्न थाल्यो । उमेरसँगै कक्षा उक्लिंंदै गएँ । कक्षा दशको परीक्षा दिएँ र दुईवटा विषयमा फेल भएँ । सोही बेला बुवा कामविशेषले घर आएका थिए । फेल भएको भन्दै बुवाले आफूसँग काठमाडौं लिएर जाने कुरा अम्मीसँग भनेका रहेछन् । काठमाडौं जाने कुरा सुनेर मेरो खुशीको सीमा थिएन ।
झन्डै १५/१६ वर्षको उमेरमा अब्बासँग काठमाडौं गएँ । दाइको वर्कशपमा तीन/चारजना समकक्षी केटाहरू काम गर्दथे । उनीहरूसँगै म पनि काममा जोतिएँ । बिहान वर्कशपको सटर खुलेसँगै भ्याइ नभ्याइ हुन्थ्यो । दाइसँग काम गर्दै अभ्यस्त हुन थालें । दाइले इन्जिनको काम गर्दा म ध्यानपूर्वक हेर्थें । पछि दाइको निर्देशन अनुसार आफैं इन्जिन खोल्न थालें भने फिटिङ दाइले गर्दथे । विस्तारै दाइको निगरानीमा इन्जिन खोल्ने देखि फिटिड्ढो काम गर्न थालें । कहिलेकाहीं दाइ घर आउँदा वर्कशपको जिम्मेवारी मेरो काँधमा हुन्थ्यो । एक दिन दाइले भने–“इन्तजार, अब तिमी दक्ष मोटरसाइकल मिस्त्री भयौ ।” दाइको कुराले म औंधि खुशी भएँ । दाइको मुखबाट यस्तो कुरा सुन्नु मेरो लागि सर्टिफिकेट पाउनु सरह थियो । यसरी बनें म मोटरसाइकल मिस्त्री ।
दाइको बिहे भइसकेपछि एक दिन बुवाले भने–“इम्तियाज, परिवारमा तिमीहरू दुईजना मोटरसाइकल मिस्त्री छौ । यसो गर, तिमी वीरगंजमा वर्कशप खोल । घरको देखभाल पनि हुन्छ । यहाँको वर्कशप इन्तजारको जिम्मा देऊ ।” त्यसपछि दाइ वीरगंज र म काठमाडौंको वर्कशप सञ्चालन गर्न थालें । ईद र बकरीदलगायत पर्वमा घर आउन पाइन्थ्यो ।
भूकम्प
विसं २०७२ वैशाख १२ गते शनिवारको दिन थियो । बिहानको नाश्ता गरेर दुई/चारवटा गाडीको काम गरिसकेपछि चेलाहरूसँग खाना पकाउने कुरा गरिरहेको थिएँ । सोही बेला धर्ती हल्लिन थाल्यो । यो के हुँदैछ ? चारैतिर कोलाहल मच्चियो । घरहरू भत्कन थाले । मेरो वर्कशपभन्दा करीब सय मिटर दूरीमा रहेको एउटा छ तल्ले भवन ठूलो आवाजसहित भग्नावशेषमा परिणत भयो । एकै परिवारका छजना च्यापिए । केही बेरपछि दोस्रो तथा त्यसपछिका पराकम्पले काठमाडौंको माहोल त्रसित भयो । डरले म पनि घर फर्किएँ ।
काठमाडौं शहरको अवस्था सामान्य हुन थाले पछि फेरि गएँ । वर्कशपको काम सन्तोषजनक थिएन । भूकम्पको बेला घर गएका चेलाहरू फर्केर आएनन् । सबै काम एक्लै गर्थें । कामको चापले गुटखा खाने बानी लाग्यो । बिस्तारै भोक मर्न थाल्यो । दिन प्रतिदिन वजन घट्न थाल्यो । मेरो हालत देखेर बुवाले एकदिन चिकित्सकलाई देखाए । उपचार भयो निको भएँ ।
यसैबीच घरबेटीले आफ्नै व्यवसाय गर्ने भन्दै कोठा खाली गर्न भने । घरबेटीले कोठा खाली गर्न दिएको १५ दिनको समयभित्र कतै कोठा पाइएन । बाध्य भएर वर्कशपको सबै समान प्याक गरी एकजना परिचितकहाँ राखिदिएँ ।
म र बुवा कोठा खोज्न जान्थ्यौं । कतै नपाइने । चिन्तामग्न बुवा सिलाइ काम छाडेर दिनभरि कोठा खोज्दै हिंड्थे । हाम्रो दैनिकी कोठा खोज्नमा बित्न थाल्यो । तनावले निद्रा र भोक लाग्न छाड्यो ।
लगभग एक महीनाको सङ्घर्षपछि डल्लुको चौतारा मन्दिर नजीक गल्लीमा कोठा पाइयो । त्यतिबेला हृदय कति हर्षित थियो, वर्णन गरेर साध्य छैन । दुई महीनाको अग्रिम भाडा दिएर प्रतिमहीना छ हजार भाडामा कोठा लिएँ । केही समयपछि सेवाग्रहीको चाप बढ्न थाल्यो । काम जम्न थालेपछि घरबेटीले कोठा खाली गर्न भन्न थाले । छ वर्षको लिखित सम्झौताको बावजूद वर्ष दिन नपुग्दै कोठा खाली गर्नुप¥यो । नुवाकोटका एकजना मोटरसाइकल मिस्त्रीले एक लाख अग्रिम र आठ हजार प्रतिमहीनाको लालच दिएपछि घरबेटीले कोठा खाली गराएको रहस्य पछि थाहा भयो ।
कोरोना
सन् २०१५ मा मेरो बिहे भयो । विवाह भएपछि काठमाडौं गएँ । डल्लुको झोलुङ्गे पुल नजीक प्रतिमहीना पन्ध्र हजारमा कोठा भाडामा लिएँ । वर्कशप जता गए पनि पुराना सेवाग्राही पुगिहाल्थे । कारोबारले गति नलिंदै कोरोनाको कहर आयो । कोरोनाको त्रासले वातावरण भयभीत थियो । भोलिदेखि लकडाउन हुने घोषणा भएपछि काठमाडौं बस्नुभन्दा घर जानु उपयुक्त ठानें । हेटौंडाका एकजना साथी बेलुकी हेटौंडा जाँदै थिए, मलाई पनि सँगै लिएर जान तयार भए ।
बल्खुदेखि देउराली हुँदै हेटौंडा जान प्रस्थान ग¥यौं । अँध्यारो र उकालो—ओरालो बाटोमा मानिसहरूको ताँती यस्तो थियो मानौं खोलामा पानी बगिरहेको होस् । काखमा बच्चा र शिरमा भारी बोकेर हिंडिरहेका महिला, पुरुष र बच्चाहरूको बिजोग थियो । हामी चढेको मोटरसाइकलले उकालो—ओरालो बाटोमा लोड लिइरहेको थिएन । म मोटरसाइकल मिस्त्री भए पनि औजारविना गडबडी ठीक गर्न असमर्थ थिएँ । जसोतसो सिस्नेरी आइपुग्दा एउटा पिकअप जिप काठमाडौंबाट हेटौंडातर्फ आइरहेको थियो । चालकले गाडीमा बस्न अनुमति दिए र हेटौडासम्म आएँ ।
हेटौंडा आइपुग्दा राति लगभग साढे एघार बजिसकेको थियो । सुनसान रातमा कुकुरहरू भुकिरहेका थिए । डरले म अँध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेको थिएँ । चोकमा पुगें । मलाई एक्लै देखेर प्रहरीहरू कराउँदै नजीक आए । धेरै प्रश्न र केरकार गर्न थाले । मैले सारा वृत्तान्त सुनाएँ । प्रहरीहरूले लकडाउन छ, चोकमा बस्न पाइँदैन भनिरहँदा सिस्नेरीमा पिकअप गाडीमा चढाएकोे साथी आइपुग्यो । ट्रक फाट्टफुट गुडिरहेका थिए । धेरै अनुनय–विनय गरेपछि एक ट्रकमा चढेर बिहान तीन बजे वीरगंज गण्डक नहर आइपुगें । त्यसपछि जसोतसो रक्सौल पुगेंं ।
एक/दुई महीनापछि भाडाको लागि घरबेटीको फोन आउन थाल्यो । संसार नै लकडाउनको मार खेपिरहेका बेला घरबेटीलाई कुनै मतलब थिएन । जसरी पनि कोठा भाडा पठाऊ भन्थे । लकडाउन खुलेपछि म काठमाडौं आउँछु र भाडा तिर्छु भन्नुबाहेक मसँग उत्तर थिएन । कामधन्दा बन्द गरी घरमा बस्दा मानसिक अवस्था कस्तो भएको थियो, वर्णन गरेर साध्य छैन । यद्यपि के सन्तोष थियो भने म मात्र होइन, संसार नै कोरोनाको संत्रास र लकडाउनको मार खेपिरहेको छ ।
आठ महीनापछि माहौल सहज हुन थालेपछि म काठमाडौं गएँ । घर भाडाको १ लाख साठी हजारमध्ये जसोतसो ४३ हजार दिएँ । यति लिएपछि घरबेटीले सबै पैसा चुक्ता गर्न कर गर्न थाले । घरबेटीको किचकिचले वर्कशप बेचिदिने मनसाय बनाएँ । अन्ततोगत्वा दुई लाख ६० हजारमा वर्कशप बेंचे । वर्कशप, सुत्ने कोठा तथा अन्य बाँकी बक्यौता तिरेपछि सत्तरी हजार हातमा आयो । म घर फर्कें ।
वीरगंज
राधेमाइमा वर्कशप खोलेको झन्डै डेढ वर्ष भयो । शुरूको केही महीना काम थिएन । बिस्तारै सेवाग्राही बढ्दै गएका छन् । तन, मनले काम गर्ने मेरो बानी छ । अहिले सन्तोषजनक काम पाइरहेको छु ।
सेवाग्राही सन्तुष्ट भए मात्र आफूलाई सन्तुष्ट ठान्छु । अहिले पनि काठमाडौंका धेरैजसो सेवाग्राहीको फोन आउँछ । काठमाडौं आउन भन्छन् ।
काठमाडौं रिटर्न मोटरसाइकल वर्कशप नामबारे वीरगंजका सेवाग्राहीहरू सोध्छन् । कतिपयले भिन्दै अर्थ लगाउँछन् । तर त्यसो होइन । मोटरसाइकलसम्बन्धी वर्षौंको अनुभवका साथै काठमाडौंमा काम गरेको छु भन्ने आशयले वर्कशपको यो नाम राखेको हँु । रक्सौल मेरो घरपायक शहर हो । यद्यपि धेरै वर्षदेखि नेपालमा काम गरिरहेकोले नेपालबाहेक अन्यत्र जान पनि सक्दिनँ ।