प्रस, सेढवा, १५ असार/

जीराभवानी गाउँपालिकाको १०औं गाउँसभा आव २०७९/८० को नीति र कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । गापा अध्यक्ष अनोज चौधरीको अध्यक्षता एवं मधेस प्रदेशसभा सदस्य शङ्कर चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको गाउँसभामा आव २०७९/८० को लागि अनुमानित रु ३६ करोड ३९ लाख २२ हजार बराबरको बजेट प्रस्तुत गरिएको थियो ।

वडा नं ३ स्थित जीतपुरमा रहेको जन्ते भवनमा भएको गाउँसभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य चौधरीले गाउँपालिकाले लिएको लक्ष्य पूरा गर्न र बजेट फ्रिज हुन नदिने गरी काम गर्न आग्रह
गरे ।

प्रस्तुत नीति र कार्यक्रम तथा बजेटमा चालूतर्फ आठ करोड ७० लाख ८५ हजार, पूँजीगततर्फ ११ करोड ५७ लाख ३७ हजार रहेको उपाध्यक्ष रेखा चौधरीले बताइन् । गापा अध्यक्ष अनुज चौधरीले नीति तथा कार्यक्रम जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको बताए ।

प्रस्तुत नीति र कार्यक्रम तथा बजेटमा गर्भवती महिलाहरूको लागि निश्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने अध्यक्ष चौधरी बताए ।

यसैगरी, सुत्केरी भत्ताबापत थप रु दुई हजारको व्यवस्था गरिएको र बिरामीलाई आवश्यक पर्ने रगत निश्शुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रममार्फत जानकारी गराइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले गापाले लिएको समृद्ध गाउँपालिकाको लक्ष्य पूरा गर्न कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय जरुरी रहेको बताए । उनले चालू आर्थिक वर्षमा नै गापाको प्रशासनिक भवन निर्माणको लागि बजेट छुट्टयाइएको बताए ।

कार्यक्रममा वडाध्यक्षहरू रामशरण खवास थारू, महादेव महतो थारू, सुरुजराय थारू, राजेश्वर महतो थारू, दारा सिंह, लेखा शाखा प्रमुख मुकेश मिश्रलगायतको सहभागिता थियो । कार्यक्रम सञ्चालन कार्यपालिका सदस्य सरोज चौरसियाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here