प्रस, वीरगंज, १५ असार/
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अद्र्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।
बुधवार आयोजित समीक्षा गोष्ठीमा इन्सेक प्रतिनिधि केसी लामिछानेले छ महीना अवधिमा ३५ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको बताए ।
उनले पर्सामा नाबालिक बलात्कारका आठवटा घटना भएको र बलात्कार प्रयासका दुई, बलात्कारको एक, मानव अधिकार बलात्कार प्रयासका दुई र हत्याका पाँच, बोक्सी आरोपको एक, मानव अधिकार बेचबिखन तथा कुटपिटका दुई/दुई र बहुविवाहका नौवटा घटना अद्र्धवार्षिक समीक्षा गोष्ठीका लागि तयार पारिएको प्रतिवेदनमा बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अद्र्धवार्षिक पुस्तकमा उल्लेख भएका घटनाहरू तथ्यमा आधारित भएको बताए । उनले घटनाको समीक्षा गर्दा तथ्यपूर्ण घटनाको सङ्कलन हुने र सरोकारवाला निकायहरूलाई खबरदारी गरिएको चर्चा गरे ।
सो अवसरमा उनले अङ्गीकृत नागरिकता पाएका सन्तान र कुमारी आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषय संसद्मा छलफल भइरहेको र त्यहाँबाट निस्कने निष्कर्षका आधारमा कार्य हुने बताए ।
प्रजिअ ढकालले महिला तथा बालबालिका कार्यालयको खारेजीबाट ठूलो क्षति भएको भन्दै यसको पुनस्र्थापना हुने सुझाव दिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको समस्या समाधानका लागि स्थानीय तहमा संरचना निर्माण गरिए पनि प्रभावकारी नभएको उनले बताए ।
प्रजिअ ढकालले बालश्रम न्यूनीकरणको विषयमा स्थानीय प्रशासनले हेर्ने र बालबालिकाविरुद्ध हुने दुरुपयोगलाई रोक्ने बताए ।
पर्सा जिल्लामा बहुविवाहमा परेर पीडित महिलालाई परिवार र समाजले नै थप पीडा दिने गरेको उनले उल्लेख गरे । उनले अहिलेको समाजमा पनि बोक्सी प्रथा हुनु दुर्भाग्यपूर्ण भएको चर्चा गरे ।
प्रहरी उपरीक्षक रमेश बस्नेतले अपराधीलाई दण्ड दिन समयसाक्षेप कानून निर्माण भएको बताए । उनले नाबालिकाको सम्बन्धमा भोगेको मुद्दामा खोजेर ल्याउँदा अभिभावकहरूबाट बलात्कारको मुद्दा चलाउने प्रवृत्ति बढिरहेको बताए । उनले अहिलेको कानूनले नाबालिकाको अभिभावकलाई सो अधिकार दिएको कारण जबरजस्ती करणी र अपहरण जस्ता घटना बढेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जारा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य रञ्जु फुयाँल, सामाजिक कार्यकर्ता प्रकाश थारू, वीरगंज युवा समाजका कमल चौंगाई, राष्ट्रिय सौन्दर्यीकर्मी युनियनका केन्द्रीय सदस्य सुमित्रा सापकोटा, जिल्ला अध्यक्ष ओमकुमारी शर्मालगायतले जिज्ञासासहितको मन्तव्य व्यक्त गरेका थिए ।