प्रस, वीरगंज, १२ असार/
बहुमतको चलखेलको कारण पर्साका अधिकांश गाउँपालिकामा गाउँपरिषद् रोकिएको छ।
सबैभन्दा बढी धोबिनी र छिपहरमाई गापामा बहुमतको खेल शुरू भएको छ। जसपाबाट विजयी धोबिनी गापाका अध्यक्ष मदन चौहान तथा उपाध्यक्ष नेकाका मञ्जु देवीबीच विवाद शुरू भएको छ। गापास्तरमा बन्ने विभिन्न समितिको विषयलाई लिएर नेका र जसपाबीच विवाद भएको हो। धोबिनी गापाको अध्यक्षमा जसपा विजयी भएपनि बहुमत नेकासँग रहेकोले अहिलेसम्म कुनै काम अगाडि बढ्न सकेको छैन।
अध्यक्ष चौहानले एकातिर खाता रोक्का गरेका छन् भने अर्कोतिर बहुमत भएको नेकाले गापाको कुनै काम अगाडि बढ्न दिएको छैन।
त्यसैगरी, छिपहरमाई गापामा पनि गाउँपरिषद् भएको छैन। नेपाल सरकारले असार १० गतेसम्म बजेट नल्याउने पालिकाहरूको बजेट कटौती गर्ने निर्देशनसहित पत्राचार गरेको अवस्थामा पर्सा जिल्लाका केही पालिकाहरूले बजेट सार्वजनिक गरेका छन् भने केही पालिकामा विवादले गर्न सकेका छैन्।
छिपहरमाई गापामा एमालेबाट विजयी अध्यक्ष मनोज गुप्ता एकातर्फ छन् भने अर्कोतर्फ जसपा र नेका छन्। अल्पमतमा रहेका गुप्ताले अहिलेसम्म बजेट ल्याउन सकेका छैनन्। अघिल्लो चुनावमा पूर्ण बहुमतले विजयी भएका गुप्ताको काम प्रशंसनीय थियो। फलस्वरूप सो गापामा गुप्ता निर्वाचित भए तर अल्पमतको कारण उनी अहिले एक्लो भएका छन्।
पटेर्वासुगौली, कालिकामाई, जीराभवानी, ठोरी, सखुवाप्रसौनी गापाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। ठोरी गापामा एमालेको पूर्ण बहुमत रहेको तर समयाभावका कारण बजेट आउन नसकेको ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी गराए। अहिलेसम्म छलफलमा लागेकोले १५ गतेसम्म बजेट ल्याउने उनको भनाइ थियो।
कालिकामाई गापाका अध्यक्ष वशिष्ठ कलवारले उपाध्यक्षले समन्वय नगर्दा बजेट नआएको बताए। आफूले पटक–पटक उपाध्यक्षलाई बोलाएको तर नेकाबाट विजयी उपाध्यक्षले समिति बनाउने विषयमा विवाद खडा गरेका कारण बजेटमा छलफल हुन बाँकी रहेको बताए।
जीराभवानी, पटेर्वासुगौली र सखुवाप्रसौनीका अध्यक्षहरू पूर्णबहुमतमा रहेको र १५ गतेसम्म बजेट ल्याउने तयारीमा रहेको सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादवले जानकारी दिए।
अहिलेसम्म महानगरको ३ अर्ब ३३ करोड, पोखरियाको ५१ करोड ९० लाख, पर्सागढी नगरपालिकाको ५८ करोड ८१ लाखको बजेट सार्वजनिक भइसकेको छ।