प्रस, रौतहट, १२ असार/
जिल्ला समन्वय समिति, रौतहटको सभापति पदमा नेपाली काङ्ग्रेसका रामअयोध्याराय यादव निर्वाचित भएका छन्।
नेपाली काङग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार यादव जिससको सभापति पदमा निर्वाचित भएका हुन्। यादवले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट सभापति पदमा उम्मेदवारी दिएका शेरबहादुर पटेलले पाँच मत प्राप्त गरेका थिए।
उपसभापति पदमा नेकपा एसका उम्मेदवार महेश बैठाले २६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेकी प्रमिला देवीले पाँच मत प्राप्त गरेकी थिइन्।
त्यस्तै, सदस्यहरूमा मोजामिल आलम, अशोककुमार झा, सर्फलालप्रसाद यादव, कमलाकुमारी ढकाल, इन्दु देवी, बिजलिया देवी र किरण देवी साह निर्वाचित भएका छन्।
जिल्ला समन्वय समितिको कुल मतदाता ३६ जनामध्ये नेपाली काङग्रेसको १४, नेकपा एसको आठ र नेकपा माओवादी केन्द्रको दुई गरी २४ मत रहेको थियो। नेपाली काङ्ग्रेसले सभापतिसहित पाँच पद, नेकपा एसले उपसभापतिसहित तीन पद र नेकपा माओवादी केन्द्रले एक पदमा तालमेल गरी निर्वाचनमा गएका थिए।