प्रस, परवानीपुर, १२ असार/
बाराको प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष भोला कलवारले नवनिर्वाचित अध्यक्ष तथा जनप्रतिनिधिलाई पूर्णरूपमा बुझबुझारथ गरेका छैनन्।
निर्वाचित अध्यक्ष विनोद जयसवालका अनुसार गापाको जिन्सी शाखाबाट उनले मोबाइल, विभिन्न फाइललगायतका सामान मतगणना भइरहेको अवस्थामा कार्यालय खोली दराजबाट झिकेर लगेको र हालसम्म जिन्सी शाखामा बुझाएका छैनन्। गापाका प्रमुख प्रशासकीय अधिकृत सुनील केशरीले पटक–पटक ताकेता गर्दासमेत चासो नदिंदा अध्यक्ष जयसवालले पत्र काटेर उनले लिएका सामानहरू बुझाउन निर्देशन दिएका छन्। साथै जिन्सी शाखाका लक्ष्मी कलवार केही दिनदेखि बिदामा रहेकाले उनी आएपछि अन्य थप विवरणहरू सार्वजनिक हुने बताए।
गत स्थानीय तहको चुनावको नतीजा आएर जेठ ९ गते शपथग्रहण गरी कार्यभार सम्हालेका अध्यक्ष जयसवाललाई एक महीना पाँच दिन बितिसक्दा पनि विगतका कागजात तथा जिन्सीका सामानहरू बुझबुझारथ नगर्दा गापाको प्रशासनिक कामकाजमा अप्ठेरो भइरहेको गापा अध्यक्ष जयसवालले बताए।
यसबारे पूर्वअध्यक्ष कलवारले आफूसँग कुनै कर्मचारीले कुनै सामानको माग नगरेको दाबी गर्दै यदि मैले लिएको छु भने त्यसको भरपाईसहित सामग्री सूची पठाएपछि आफूले ती सामानहरू बुझबुझारथ गर्ने बताए।