प्रस, पोखरिया, १२ असार/

पर्साको बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुरस्थित भङ्गी साह माध्यमिक विद्यालयमा शिक्षकको माग गर्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरूले आइतवार बिहान ६ देखि ९ बजेसम्म तीन घण्टा विद्यालयको मूल गेटमा तालाबन्दी गरेका थिए। मावि तहमा दिनको सात घण्टी अध्ययन हुनुपर्नेमा चारजना शिक्षक मात्रै भएकाले पूरै घण्टी अध्ययन नहुने गरेको भनी विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका थिए।

विद्यालयमा दबरन्दी अनुसारका शिक्षक नहुँदा  पठनपाठनमैं असर परेपछि हामीले बाध्य भएर तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत छात्र सुरज पटेलले बताए। उनले कक्षामा लेखा र विज्ञान विषयको मात्र अध्ययन हुने गरेको र बाँकी पाँच विषयको लागि ट्युशन लिनुपर्ने बाध्यता रहेको बताए।

पटक–पटक दरबन्दी अनुसार शिक्षकको पदपूर्तिको माग राखेर सात दिने अल्टिमेटम दिंदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आज विद्यालयमा तालाबन्दी गर्नुपरेको कक्षा १० मा अध्ययनरत छात्र अभिषेक पटेलले बताए। उनले सात घण्टी अध्ययन हुनुपर्छ तर शिक्षक भने चारजना मात्र छन्, तर दुईजना शिक्षकले दुईवटा विषयको अध्यापन गराउँछन् भने। बाँकी दुईजना शिक्षक प्रायः बिदामैं हुन्छन्। हामी मात्र होइन यसभन्दा पहिलेका सिनियर दाइहरूले समेत यो समस्या खेप्नुपरेको थियो। अझै विद्यालयको समस्या दिन प्रतिदिन बढ्दै गएको पटेलले बताए। नवनिर्वाचित जनप्रतिनिधिहरू आएपनि विद्यालयप्रति कुनै चासो नदेखाएको उनले बताए। हालै सम्पन्न निर्वाचनमा सबै दलका उम्मेदवारले शिक्षा तथा स्वास्थ्यमा सुधार ल्याउनेछु भनी भाषण गरे पनि विद्यालयको समस्या समाधान नभएको स्थानीय अभिभावकहरू ले बताए।

सो सम्बन्धमा विद्यालयका प्रधानाध्यापक सुधाकर उपाध्यायसँग बुझ्दा दरबन्दी अनुसारको शिक्षक नहँुदा समस्या भएको स्वीकारे। उनले भने– “माविमा जम्मा चारजना मात्र शिक्षक छन्। ती चारैजना शिक्षकले दिनको चार/चार घण्टी पढाउने गरेका छन्।” तर कुनै दिन कोही शिक्षक काम परेर बिदामा बस्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको बताए।

शिक्षकको माग गर्दै विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेको जानकारी दिंदै उनले समस्या समाधानका लागि सोमवार बिहान पालिका कार्यालयमा जनप्रतिनिधि, विद्यार्थी र विद्यालय प्रशासनबीच छलफलका लागि बैठक बोलाइएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here