प्रस, सेढवा, ११ असार/
थारू नागरिक समाज, पर्सा–बारा–रौतहटले जीराभवानी गाउँपालिका–३ मा स्थानीय तह निर्वाचनमा निर्वाचित थारू जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ।
संस्थाका अध्यक्ष प्रमानन्द चौधरीको अध्यक्षता तथा थारू कल्याणकारी समितिका केन्द्रीय सदस्य बृजमोहन चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरूले थारू समुदायमा विकृति बढेपछि आर्थिकरूपमा कमजोर हुन थाले बताए। उनले थारू समुदायको विकासका लागि स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताए। अध्यक्ष थारूले थारू समुदायको परम्परागत संस्कृति, भाषा तथा पहिचानको संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले थारू समुदायको पहिचान, पहुँच तथा सामाजिक विकासका लागि चेतनशील नागरिक उत्पादन गर्ने जिम्मेवारी जनप्रतिनिधिको रहेको बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य शङ्कर चौधरी, थाकस पर्साका नन्दकिशोर पञ्जियार, भागवत चौधरी, पटेर्वासुगौली गापाका अध्यक्ष दिनेशकुमार चौधरी, उपाध्यक्ष ममता महतो, जीराभवानी गापाका अध्यक्ष अनोज चौधरी, वीरगंज जेसीजका पूर्वअध्यक्ष शेखर चौधरी, थारू मेलमिलाप परिवारका अध्यक्ष मनोज चौधरी, आदिवासी जनजाति पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अजित भुजेललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा पर्सागढी नगरपालिकाकी उपप्रमुख पूजा चौधरी, सखुवाप्रसौनी गापाकी उपाध्यक्ष शर्मिला विष्ट महतो, जीराभवानी गापाका उपाध्यक्ष रेखा चौधरी र वडाध्यक्षहरूलाई सम्मान गरिएको थियो।