प्रस, निजगढ, ११ असार/
आर्थिक वर्ष २०७६/७७ मा जीतपुरसिमरा उपमहानगरपालिकाले हेटौंडाको न्यू पाथिभरा सप्लायर्ससँग सम्झौतापत्रमा उल्लेख भए बमोजिमका शर्तहरू पूरा नगरी नियमितरूपमा गिट्टी, बालुवा उत्खनन बिक्री वितरण कार्य गर्न दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंले विशेष अदालतमा शुक्रवार आरोपपत्र दायर गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले बालगङ्गा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्री गर्ने गरी न्यू पाथिभरा सप्लायर्ससँग सम्झौता गर्दा दुई किस्ताबापत हुने रकम ठेकेदार कम्पनीबाट लिनुपर्नेमा सो नलिई सम्झौता गरेको भन्दै आर्थिक वर्ष २०७६/७७ मा ठेकेदारको तर्पmबाट कबोल बमोजिमको अङ्कमध्ये हालसम्म दाखिला गर्न बाँकी रकम रु एक करोड २० लाख २८ हजार ९० दाखिला नगरी राजस्व चुहावट हुन गएको उक्त आरोपपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ (क) बमोजिमको कसूर भएकोले जीतपुरसिमरा उपमहा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जीतपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंलाई बिगो रु एक करोड २० लाख २८ हजार ९० कायम गरी सोही ऐनको दफा ७ बमोजिम जरिवाना गरी ऐनको दफा नं ३ को उपदफा (१)को देहाय (झ) बमोजिम कैद सजाय हुनुपर्ने मागदाबी गरिएको भनिएको छ।
त्यसैगरी, न्यू पाथिभरा सप्लायर्सले कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको रकम रु एक हरोड २० लाख २८ हजार ९० र ठेक्का कबोल अङ्कको हुन आउने मूल्य अभिवृद्धि कर रकम रु ४६ लाख ४४ हजार ५१० दाखिला नगरेको देखिएकोले सो रकमसमेत गरी रु एक करोड ६६ लाख ७२ हजार ६०० सार्वजनिक निकायलाई हानिनोक्सानी गरेकोले उक्त सप्लायर्सलाई बिगोबापत रु एक करोड ६६ लाख ७२ हजार ६०० कायमसमेत गरेको छ। सो सप्लायर्सलाई सोही ऐनको दफा ८ (४) बमोजिम सजाय गरी पाउन र उक्त बिगो सोही दफा बमोजिम जफत गर्न मागदाबी लिई शुक्रवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन्।
जीतपुरसिमरा उपमहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं हाल जिल्ला प्रशासन कार्यालय, बारामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। विशेष अदालतमा सो आरोपपत्र दायर भएसँगै उनी निलम्बित भएका छन्।