प्रस, गरुडा, ११ असार/

नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहले विकासको मौलिक ढाँचामा मौलापुर नगरपालिका अगाडि बढिरहेको बताएका छन् । जिल्लाका अन्य पुराना नगरपालिकाहरूको तुलनामा मौलापुर निकै पछाडि बनेको भएपनि विकासको रफ्तारले सबै नगरपालिकालाई जितेको बताएका छन्।

मौलापुर नगरपालिकाको नगरसभालाई शुक्रवार सम्बोधन गर्दै नेता साहले साना–साना योजना केन्द्र र प्रदेश सरकारले गरिरहेकाले स्थानीय तह कमजोर भएको बताएका छन्। शौचालय, कलधारा, मन्दिर, पोखरी सजावटजस्ता साना योजनाहरूमा प्रदेश र केन्द्र सरकारले लगानी गरिरहेको बताउँदै नेता साहले यस्ता साना योजनाहरू पालिकालाई दिनुपर्ने बताए।

देश सङ्घीयतामा गइसकेकोले साना योजनाहरू पालिका सरकारले, मझौला योजनाहरू प्रदेश सरकारले र ठूला योजनाहरू केन्द्र सरकारले सञ्चालन गर्नुपर्ने नेता साहले बताए। एकै किसिमका विकास योजनामा तीन तहका सरकारले काम गरिरहेको देखिएको वर्तमान अवस्थामा स्थानीय सरकारलाई बलियो बनाउन र सर्वसाधारणलाई सङ्घीयताको अनुभूति गराउन मापदण्ड बनाएर सङ्घ, प्रदेश र पालिका सरकारले काम गर्नुपर्ने तर्क दिए।

यसैबीच, मौलापुर नगरपालिकाले ३६ करोड रुपियाँको लोकप्रिय बजेट ल्याएको छ। मौलापुर नगरपालिकाका सम्पूर्ण नागरिकलाई बिजुली तथा खानेपानी निश्शुल्क उपलब्ध गराउँदै आएको र आगामी आर्थिक वर्षमा पनि पूर्णतया निश्शुल्क उपलब्ध गराइने नगरप्रमुख रीनाकुमारी साहले घोषणा गरेकी छन् ।

शिक्षा र स्वास्थ्य नगरपालिकाको पहिलो प्राथमिकतामा रहने गरेको बताउँदै नगरप्रमुख साहले महिला सुरक्षा तथा साक्षरताको पक्षमा नगरपालिकाले गरेको काम अनुकरणीय भएको बताएकी छन्। मौलापुर नगरपालिकाले शुरू गरेका योजनाहरू छात्रालाई सेनिटरी प्याड वितरण, छात्रालाई साइकल तथा ल्यापटप वितरण जस्ता कार्यक्रमलाई केन्द्र र प्रदेश सरकारले अनुकरण गरिरहेको बताउँदै नगरप्रमुख साहले मौलापुर नगरपालिकाले झनै लोकप्रिय कार्यक्रम ल्याएको र नगरवासीलाई सुविधा र सेवा दुवै उपलब्ध गराइरहेको बताएकी छन्।

मौलापुर नगरपालिकाले सर्वसाधारण नागरिकलाई सबै कर मिनाहा गर्दै आएकोमा आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको बताएकी छन्। मौलापुर नगरपालिकाले विकासको मौलिकता तयार पारिसकेको र अन्य पालिकाहरूले अनुकरण गरिरहेको नगर प्रमुख साहले दाबी गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here